१२ श्रावण २०८१, शनिबार

‘लु’ ले पर्ने प्रभावको बारेमा सरकारी नीतिले सम्बोधन नगरेपछि…….

लु न्युनिकरण अभियान भन्दै गोष्ठि, तालिमहरु धमाधम चल्दै

  • न्युज मानसराेवर

नेपालगन्ज :तराई क्षेत्रमा उच्च गर्मीको कारण चल्ने तातो हावाको लहर ‘लु’ ले पर्ने प्रभावको बारेमा सरकारी नीतिलेनै सम्बोधन नगर्दा जोखिम न्यूनिकरणमा अपेक्षित काम हुन नसकेको सम्बद्ध सरोकारवालाले गुनासो गरेका छन् ।

संकटासन्न पेशागत समूहलाई जोखिम न्यूनिकरणका लागि दिइएको तातो हावाको जोखिम क्षमता बृद्धि अभिमुखीकरण तालिम उद्घाटनमा आयोजक नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा सभापति सभापति गोवर्धन सिंह सम्झनाले नीतिगत समस्या औल्याए ।

‘तातो हावाको लहरलाई नेपाल सरकारले विपद्को रूपमा स्वीकार गरिसकेको भएपनि नीतिगत रूपमा सम्बोधन गर्न ढिलाई भइरहेको छ,’ सभापति सम्झनाले यसको प्रभावबाट बच्न सबैलाई आग्रह गर्दै भने । तालिममा तातो हावाको लहर (लु) भनेको हो, यसको जोखिम, प्रभाव, न्यूनीकरण, बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिममा पेशागत संगठनहरू नेपाल प्रहरी, ट्राफिक प्रहरी, कामदार, सरसफाईकर्मी, निर्माण व्यवसायी, अपाङ्ग संघ, मजदुर लगायतको सहभागिता रहेको थियो । नेपालगन्ज उपमहानगरपालिका विपद् तथा वातावरण समितिका संयोजक समीर प्रताप सिंहले नगर क्षेत्रमा तातो हावाको लहर ‘लु’ को सचेतनाका लागि माइकिङ्ग, घरभेट, प्रचारप्रसार भइरहेको बताउँदै कुलिङ्ग सेन्टर निर्माण कार्य आगाडि बढिसकेको जानकारी दिए ।

कार्यक्रममा रेडक्रसका कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, विपद् तथा संकट व्यवस्थापन समिति संयोजक नरेन्द्रकुमार पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी लगायतले विचार व्यक्त गरेका थिए । अभिमुखीकरणको सहजीकरण नेरेसो बाँकेका उपनिर्देशक दोलखबहादुर डाँगी र नेरेसो विपद् तथा संकट व्यवस्थापन विभागका बरिष्ठ अधिकृत ललित खतिवडाले गरेका थिए । कार्यक्रम संचालन विपद् व्यवस्थापन सूचना अधिकृत रूपन ज्ञवालीले गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी र अमेरिकन रेडक्रसको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा नेपालगन्जमा संचालित तातो हावाको लहर ’लु’ प्रतिकार्य कार्यक्रमद्वारा अभिमुखीकरण तालिम दिइएको बाँके रेडक्रसका उपनिर्देशक डाँगीले बताए । रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा कार्यक्रम आयोजना भएको अधिकृत झविलाल शर्माले जानकारी दिए ।

  • ८ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech