१२ श्रावण २०८१, शनिबार

घाम पानी नभनि कोहलपुरका सडक पेटिमा जुत्ता सिलाउदै आत्मनिर्भर बन्दै यी महिला उद्यमी

नगरपालिकाले लक्षित समुदाय भन्दै तालिमहरु दिंदै आएको भएपनि सडक उद्यमीहरुलाई भने तालिममा सहभागिता गराउन सकेको छैन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: गर्मि यामको उखरमौलो गर्मि होस या पुष माघको कठ्याङग्रिने जाडो नै होस, या त बर्षा यामको बर्षे झरी नै किन नहोस कोहलपुर न्युरोड नजिकका सडक पेटिमा केहि महिला उद्यमीहरु जुत्ता चप्पल सिलाउदै र मर्मत गर्दै गरेका भेटिन्छन । यी चार महिलाहरुको दैनिक दिनचर्या विहान यस ठाउमा आउने र दिउस काम गर्दै बेलुवा घर फर्किनेक्रम जारी रहेको ३ बर्षदेखि १७ बर्ष पुगेको छ । उनीहरु निरन्तर आफनो हातको सिपलाई उपयोग गर्दै जिविकोपार्जन मात्र गरेका छैनन वलकि आत्मनिर्भरको बाटोमा समेत अग्रसर देखिएका छन । उनीहरुलाई सडक पेटिका उद्यमी भन्दा पनि फरक नपर्ने वताउछन उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेल ।

एक सडक उद्यमी हुन कोहलपुर–५ घर भएकी दीपा सार्की । उनी बिगत १७ वर्षदेखि यही पेसामा छिन । उनको हरेक दैनिकी जुत्ता–चप्पल सिलाएरै बित्छ। जुत्ता–चप्पल पुरुषले मात्र सिलाउनुपर्छ, महिलाले त छुनु पनि हुँदैन भन्ने परम्परा तोड्दै यसलाई आम्दानीको प्रमुख स्रोत बनाएको उनको भनाई छ ।

अव त यही पेसामा लत बसेको बताउछिन दीपा । कहिले कुन रुखको छहारी कहिले कुन रुखको छहारीमा बसेर जुत्ता–चप्पल सिलाउनु रहर होइन, बाध्यताले उनी सडक पेटीसम्म पुग्नु परेको हो। आफु एकल महिला भएको र छोराछोरीको लालनपालनको जिम्मेवारीले गर्दा यो पेशा अङ्गालेको उनको भनाइ छ । पहिले जस्तो धेरै कमाई नहुने, घामपानीले गर्दा मुस्किलले दैनिक चारदेखि सात सय कमाई हुने उनको भनाई छ।

दीपाको छेउमै छेवैमा अर्कि सडक उद्यमी महिला मीना नेपालीले पनि जुत्ता–चप्पल सिलाउन थालेको १० वर्ष भयो। श्रीमानको मृत्यु भएपछि उनले पनि यहि जुत्ता चप्पल सिलाउने र मर्मत गर्ने व्यवसायको साहारा लिईन। यस पेशाबाट नै भएको आम्दानीले आफ्नो छोराछोरीको लालनपालन भइरहेको उनी बताउछिन।

जुम्लाबाट आएकी निरमाया नेपालीले कोहलपुरमा आएर जुत्ता चप्पल सिलाउन लागेको पनि तिन बर्ष बितिसक्यो। जुम्लामा खासै व्यापार नभएर कोहलपुर झरेकी निरमायाले सोचेजस्तो कमाई नहुँदा घरपरिवार पाल्न निकै धौ धौ भएको गुनासो गरिन ।

त्यस्तै, पिरिमा सार्की कालिकोटबाट आएर बिगत आठ वर्षदेखि यही सडक पेटीमा जुत्ता सिलाइरहेकी छिन। श्रीमानलाई सघाउँदा सघाउँदै आफूले पनि काम सिकेको र अहिले यही पेशा अँगालेको उनको भनाइ छ । श्रीमान् अस्वस्थ भएर उपचारको लागि कोहलपुर झरेको तैपनि श्रीमानलाई पूर्ण रुपमा ठिक नभएपछि आफूले सात वर्षदेखि निरन्तर जुत्ता चप्पल सिलाउने काम गरिरहेको पिरिमा बताउछिन । मुस्किलले दैनिक सात, आठ सय कमाइ हुने गरेको उनको अनुभव छ । स्थानीय तहबाट खासै सहयोग नपाएको गुनासो गर्दै उनीहरूले जुत्ता चप्पल बनाउने तालिम पाए आफ्नो पेसामा थप टेवा पुग्ने विश्वास ब्यक्त गरेका छन ।

यद्यपि कोहलपुर नगरपालिकाले विभिन्न क्षेत्रका ब्यक्ति तथा समुदाय लक्षित तालिमहरु प्रदान गरेको भएपनि सडक ब्यापारीहरुलाई यथोचित ब्यबस्थापन गर्न सक्ने तालिमहरुको ब्यबस्था भने गर्न सकेको छैन । सडक ब्यापारीहरुलाई सडक छेउमा ब्यापार गर्न नदिएपछि सडक ब्यापारीहरुले यतिबेला कोहलपुरका केहि निजि ब्यक्तिको आगन अगाडि आफनो सामान राखेर ब्यापार गर्दै आएका छन भने कतिपयले साईकलमा राखेर दैलो दैलोमा घुमाउदै ब्यापार गर्दै आएका छन । बसपार्क, बस रोकिने स्थल नजिक हात हातमा प्लाष्टिक झोलामा फलफुल तथा अन्य सडक ब्यापारमा प्रयोग हुने वस्तु वेच्दै हिडेको सहजै देख्न पाईन्छ । पहिले पहिले अब्यबस्थित ब्यापारमा कडाई गरेको कोहलपुर नगर प्रहरीले समेत आजभोलि सडक ब्यापारीहरुलाई सहजै ब्यापार गर्न दिएपछि आफनो गुजरा चलाउन सहज भएको सडक ब्यापारीहरुको भनाई छ ।

  • ८ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech