११ श्रावण २०८१, शुक्रबार

बाँकेका स्थानीय तहको ६४ करोड ७२ लाख ८५ हजार रकम बेरुजुमा

सबै भन्दा बढि बेरुजु नेपालगञ्ज उपमहानगरको रहेको छ भने कम बेरुजु जानकी गाउपालिकाको

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन आइतबार सार्वजनिक भएको छ । महालेखाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्दा बाँकेका स्थानीय तहको ६४ करोड बढी बेरुजु रहेको तथ्यांक सार्वजनिक गरेको छ । त्यसअघिको आ.व. २०७८/०७९ भन्दा समग्रमा बेरुजु रकममा केही कमी देखिएपनि कुनै स्थानीय तहको अघिल्लो आ.व. भन्दा बढी त कसैको कम बेरुजु देखिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा महालेखाले बाँकेका आठ स्थानीय तहको कुल १६ अर्ब ८९ करोड ९७ लाख ३४ हजार बराबरको लेखा परीक्षण गरेको थियो । उक्त रकमको लेखापरीक्षक गर्दा महालेखाले ६४ करोड ७२ लाख ८५ हजार रकम बेरुजुमा राखेको छ ।

महालेखाले अघिल्लो आर्थिक बर्षमा ६० औं प्रतिवेदन जारी गर्दा बाँकेका आठ स्थानीय तहको ६९ करोड ५५ लाख बेरुजु औंल्याएको थियो ।आर्थिक बर्ष २०७८/०७९ मा महालेखाले बाँकेको आठ स्थानीय तहको १६ अर्ब १३ करोड ५७ लाख बढीको लेखापरीक्षण गरेको थियो ।

महालेखाको आइतबार सार्वजनिक भएको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदनले नेपालगन्ज उपमहानगरपालिकाको बेरुजु प्रतिशत ४.०२, कोहलपुर नगरपालिकाको बेरुजु प्रतिशत ४.६७,  खजुरा गाउँपालिकाको बेरुजु २.४७ प्रतिशत,  जानकी गाउँपालिकाको बेरुजु प्रतिशत २.९४   औंल्याएको छ । त्यस्तै डुडुवा गाउँपालिकाको बेरुजु प्रतिशत ४.७८,  नरैनापुर गाउँपालिकाको बेरुजु प्रतिशत ४.०२ प्रतिशत,   बैजनाथ गाउँपालिकाको बेरुजु प्रतिशत ५.१३ र राप्तीसोनारी गाउँपालिकाको बेरुजु प्रतिशत २.०५  रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

सबै भन्दा बढि बेरुजु नेपालगञ्ज उपमहानगरको रु १६,५७,५२००० सोह्र करोड सन्ताउनन लाख बाउन्न हजार रहेको छ भने सबै भन्दा कम बेरुजु जानकी गाउपालिकाको रु ४,००,८७,००० चार करोड सतासि हजार रहेको महालेखाले प्रतिवेदनमा औंल्याएको छ । आ.व २०७९/८० मा कोहलपुर नगरपालिका भने पालिकाहरुमै दोस्रो बेरुजु भएको पालिकामा आफुलाई दर्ज गरेको छ । कोहलपुरको बेरुजु रु १३,३०,७२,००० तेह्र करोड तीस लाख बहत्तर हजार रहेको छ ।

अघिल्लो आ.व. २०७८/०७९ मा महालेखाले नेपालगन्जको बेरुजु प्रतिशत ५.२, राप्तीसोनारीको ५.३१, कोहलपुर नगरपालिकाको ६.२४, खजुरा गाउँपालिकाको २.४७, जानकी गाउँपालिकाको २.९२, डुडुवा गाउँपालिकाको २.४५, बैजनाथ गाउँपालिकाको ४.३२ र नरैनापुरको बेरुजु प्रतिशत २.७१ प्रतिशत रहेको औंल्याएको थियो । महालेखाले यसअघिका बर्ष जस्तै स्थानीय तहले गरेको खर्चको मनपरी औंल्याउँदै विभिन्न सुझाव पनि आफ्नो प्रतिवेदनमा समेटेको छ ।

  • १४ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech