१२ श्रावण २०८१, शनिबार

बाँकेका नाकाहरुमा तस्करहरुकै रजगज

लत्ता कपडा, मोवाईल देखि बोईलरको मासु सम्म तस्करी

  • न्युज मानसराेवर

बाँके: बाँकेको नेपाल भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरुले नाकामा कडाइ गरेको दाबी गरिरहेकै बेला भारतबाट अवैध रुपमा भित्र्याएर नेपालगन्ज पुरयाइएका अवैध सामान ठुलो परिमाणमा बरामद हुने क्रम जारी रहेको छ ।शिलशिलाबद्ध अबैध भन्सार छलिका सामानसहित तस्करहरु पक्राउ पर्नुले अहिले बाँकेका नाकाहरुमा तस्करहरुकै रजगज चलेको प्रष्ट भएको छ ।

नाका छलेर भन्सार राजस्व नतिरी नेपालगन्ज पुर्‍याइएका लाखौं मूल्यका अवैध सामानहरु प्रहरीले दैनिकजसो बरामद गरिरहेको छ । पछिल्लो एकसातामा मात्र प्रहरीले ४० लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिन सफल भएको छ, त्यो पनि नाकाबाट भित्रिएर अवैध सामानलाई तस्करहरुले नेपालगन्जमा प्रवेश गराइसकेपछि मात्र प्रहरीले १६ लाख रुपियाँको विभिन्न अवैध सामान र २३ लाख रुपियाँको भारतबाट भन्सार छली गरेर ल्याइएको मोबाइल डिस्प्ले बरामद गरेको जनाएको छ । यसैगरी चोरी लुकी भारतबाट ल्याइएका ७७ थान मोबाइल पनि एक पसलबाट बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज–२ सेतुबिक चोकबाट भन्सार छली गरेर ल्याइएको २३ लाख रुपियाँको ९२३ पिस स्मार्ट मोबाइल डिस्प्ले बरामद गरिएको थियो।

बरामद गरिएको ती मोबाइल डिस्प्लेहरु २३ लाख ७ हजार ५०० रुपियाँ बराबरको रहेको जनाउँदै डिएसपी डाँगीले बरामद मोबाइल डिस्प्लेलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए । यसैगरि जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपमा ल्याइएको दुई लाख भन्दा बढीको लत्ताकपडा र डेढ क्विन्टल बोइलर कुखुराको मासु पनि बरामद गरेको जनाएको छ ।

भन्सार राजस्व छलेर अवैध रुपले नेपालगन्ज ल्याइएको २७ पिस कुर्ता सुरुवाल नेपालगन्ज–१ धम्बोझीबाट बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताएका छन । त्यसैगरी दुई जना नागरिकसहित १ क्विन्टल ४० किलो बोइलर कुखुराको मासु पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीले अवैध कुखुराको मासुसहित भारतस्थित बहराइच बस्ने मोहम्मद इसाहक र नेपालगन्ज–८ का समीर कुरेशीलाई पक्राउ गरेको हो । सोही प्रकारले एकदिन अगाडि मात्रै नेपालगन्ज १४ चौलिकामा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको ५ लाख ४९ हजार रुपियाँको लत्ताकपडा, मोबाइल डाटा केबल, चस्मालगायतका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको थियो भने नेपालगन्ज १ धम्बोझीमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको आठ लाख ६१ हजार बढीको लेडिज कुर्ता सुरवाल, इलेक्ट्रिक सेन्सर, चुइङ्गम, बेल्टको कडीलगायतका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • १४ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech