कोहलपुर,बाँके:नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस नाघेपछि विद्यालयको बिदा थप गरेर नेपालगञ्ज उपमहानगरपालिकाले असार ७ गतेसम्मका लागि बढाइएको छ। गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि जेठ १५ गतेदेखि १९ गतेसम्मका लागि दिइएको बिदालाई थप गरेर जेठ २० गतेदेखि असार ७ गतेसम्म थप गरिएको नेपालगन्ज उपमहानगरले जनाएको छ।
विद्यालयको क्यालेण्डरमा उल्लेख गरिएको गर्मी बिदा समेत मिसाएर जेठ २० गतेदेखि असार ७ गतेसम्म नेपालगन्ज उपमहानगर भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताए। उनले गर्मी घट्नुको सट्टा झन् बढ्दै गएर तापक्रमले विगतका वर्षको सबै कीर्तिमान तोड्न थालेपछि बिदा थप गरिएको जिकिर गरेका छन।
चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई पर्याप्तता मात्रामा पानी खुवाउन अनुरोध गरेका छन्।
यता कोहलपुर नगरपालीकाले भने थप ३ दिनकालागी गर्मी बिदा थप गरेको छ । जेठ १६ गते देखि १८ गतेसम्म कोहलपुरले स्थानिय विद्यालयहरुमा गर्मी बिदा दिएको थियो । तर अवस्था अझैं सामान्य नभएकाले थप ३ दिन (जेठ २२ गते ) सम्म विद्यालय बन्द हुने शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव राम बहादुर हमालले जानकारी दिएका छन ।
यसैबिच बाँकेको जानकी गाँउपालिकाले समेत गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी बढेपछि जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जेठ २५ गतेसम्म गर्मी विदा दिएको हो ।
यसैबिच अत्यधिक गर्मी बढेपछि बाँकेको डुडुवा गाउँपालिकाले शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्तर्गतका सबै शैक्षिक संस्था बन्द गरेको छ । पछिल्लो समय नेपालगन्जको तापक्रम ४२ डिग्री सेल्सियस भन्दा बढी रहने गरेको छ । जसका कारण दैनिक जनजीवनमा प्रत्यक्ष रूपमा असर गरेको छ ।
विगत केही दिनदेखि बढेको अत्यधिक गर्मी, तातो हावा र ‘लू’का कारण जनजीवन कष्टकर बन्दै गएपछि गाउँपालिकाले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था बन्दको आव्हान गरेको हो ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेले एक सूचना जारी गरी विद्यालयको प्रशासनिक कार्य बाहेक पठनपाठन बन्द गरेको जनाउनुभएको छ । उहाँका अनुसार अधिकांश विद्यालय टिनको छाना भएको र गर्मी बढेर बालबालिकाहरूलाई प्रत्यक्ष असर पार्ने भएकाले हाललाई पाँच दिनसम्म पालिका अन्तर्गत रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको हो ।