१० मंसिर २०८१, सोमबार

पश्चिम तराईमा ‘लु’वाट बच्न ‘लु’ प्रतिकार्य परीयोजना प्रभावकारी

विद्यालयहरुमा ३५० थान सिलिङ पङ्खा जडान गरिएको र ७०० घरधुरीलाई खाद्यान्न वितरण

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: पश्चिम तराईका बाँके, बर्दिया र कैलालीका पाँच वटा पालिकामा अत्यधिक गर्मी र ‘लु’ बाट प्रभावितलाई जोगाउन ‘लु’ प्रतिकार्य परीयोजना प्रभावकारी बन्दै गएको छ । उक्त स्थानका विभिन्न विद्यालयहरुमा ३५० थान सिलिङ पङ्खा जडान गरिएको र ७०० घरधुरीलाई खाद्यान्न वितरण गरिएको जनाईएको छ ।

स्टार्ट फण्ड नेटवर्क युके एडको सहयोगमा कतार च्यारिटिको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो परियोजना अन्तर्गत कक्षाकोठामा गर्मी कम गर्न र आरामसँग शिक्षा प्राप्त गर्न तीन जिल्लाका दश वटा विद्यालयमा ३५० वटा सिलिङ फ्यान जडान गरी विद्यालयका बालबालिकालाई गर्मीबाट बच्न छाता, खानेपानीको बोतल, ओआरएस र ग्लुकोज पाउडर वितरण गरिएको छ ।

कतार च्यारिटिको कार्यक्रम प्रबन्धक ईर्शाद शेषले दिएको जानकारी अनुसार खाद्यान्नमा पहुँचको लागि ज्यालादारी, एकल महिला, अपाङ्गता भएका व्यक्ति, गर्भवती र सुत्केरी आमा गरेर ७०० घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । उनीहरूलाई छाता, रुमाल, औषधियुक्त लामखुट्टेको झुल र चप्पल समेत वितरण गरिएको छ ।

यसैगरि नगरपालिकामा सेवा लिन आउने सर्वसाधारणलाई चिसो पानीको सुविधा उपलब्ध गराउन नेपालगन्ज उपमहानगरपालिका र गुलरिया नगरपालिकाका परिसरमा वाटर कुलिङ सिस्टम जडान गरिएको छ भने विश्रामस्थल जडानको काम भइरहेको छ । स्थानीय बासिन्दालाई हाइड्रेटेड बनाउनको लागि सार्वजनिक स्थानमा निःशुल्क पानी वितरण गर्ने कार्य निरन्तर चलिरहेको छ । त्यसका साथै तीन जिल्लाका पाँच पालिकाका ६ हजार बालबालिकालाई छाता, जीवनजल, ग्लुकोज, पानी खाने बोतल र झोला समेत वितरण गरिँदै छ ।

विभिन्न सामग्री वितरण गरिएकाहरूलाई सामग्री प्रदान गर्नु अघि गर्मी र लु बाट जोगिने उपायहरू सिकाउनुका साथै ध्यान दिनुपर्ने कुराहरूको जानकारी पनि गराइएको छ । कतार च्यारिटीका परियोजना प्रबन्धक इरशाद अलि शेखको नेतृत्वमा रहेको एक टोलीले वितरण कार्यक्रमको अनुगमन गरेको थियो । सो टोलीमा कतार च्यारिटिका परियोजना संयोजक फारिस, केफस महर्जन र रचना थापा स्टार्ट फन्डका कार्यक्रम प्रबन्धक प्रमिला सुवेदी र साझेदारी विशेषज्ञ सम्झना घिमिरेको सहभागिता रहेको थियो ।

सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, मुख्य संरक्षक परवेज अलि सिद्धिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, महासचिव बुधेश जैसवाल, कोषाध्यक्ष फिरदौस जहाँ, कार्यकारिणी सदस्यहरू मिना भुसाल र जावेद सिद्धिकी, कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली, कार्यक्रम संयोजक साजिद अलि सिद्धिकी, अनुगमन अधिकृत बिनिता आरसी, परियोजना अधिकृत नदीम शाह, सामाजिक परिचालक तथा स्वयंसेवकहरूको समेत सहभागिता रहेको थियो ।

 

  • २२ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech