१२ श्रावण २०८१, शनिबार

अल्झिरहने बाँदरमुढे घटनाका १८ बर्ष पिडितले पाएनन न्याय
  • न्युज मानसराेवर

चितवन:आज भन्दा १८ वर्ष अगाडि आजैको दिन बिहान पौने ८ बजे माडीको बगहीबाट नारायणगढतर्फ आउँदै गरेको ना.१ख. ३२४५ नम्बरको यात्रुबाहक बसमा तत्कालीन विद्रोही नेकपा ‘माओवादी’ ले बम विस्फोट गराएको थियो । उक्त कहालीलाग्दो बाँदरमुढे घटना भएकोपनि आज १८ बर्ष पुगेर १९ बर्षमा प्रवेश गरेको छ । तरपनि पीडितले अझै न्याय नपाएको गुनासो गरेका छन् । तत्कालीन माओवादी पार्टीले राखेको  बिद्युतिय धरापमा परेर ७५ जना घाइते भएका थिए । भने ३९ जनाको घट्नास्थलमा नै मृत्यु भएको थियो ।

माडी अयोध्यापुरी ७ की सीता सुवेदी जति बिर्सन खोजेपनि त्यो दिनको घटनालाई बिर्सन सक्नुहुन्न । कामको सिलसिलामा उहाँ जब बाँदरमुढे खोला हुँदै हिँड्नुपर्छ, घटनामा घाइते हुनुभएकी सीताको मुटु थरर्र काँप्छ । उहाँका श्रीमान् आत्मराम र छोरी अञ्जलीसहित उहाँपनि पर्नुभएको थियो । श्रीमान् र छोरीको विस्फोटमा परेर मृत्यु भयो । उहाँ शक्त घाइते हुनुभयो । अहिले पनि उहाँले औषधि सेवन गर्नुपर्छ । टाउको र ढाडमा चोट छ । गाह्रो काम गर्न सक्नुहुन्न । उहाँ भन्नुहुन्छ, ‘हाम्रो पीडा जहिले नै उस्तै छ, न न्याय मिलेको छ, न उपचार नै सीता गुनासो गर्नुहुन्छ ।

यसैगरी बाँदरमुढे घट्ना पीडित समितिका उपाध्यक्ष एवं  उक्त घट्नामा परेर २ वटा खुट्टा ढाड र छातीको करङ्ग, हात भाँचिएको र अहिले हाल देब्रे खुट्टामा स्टिल राखेर सामान्य हिडडुल गर्दै आएका अधिकारी भन्नुहुन्छ, “भाग्यले बाँचेको हुँ, तरपनि यस्तो अबस्थामा आँफुले एकपटक मात्र फुलबारीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको हुँ ”

भेटमा दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्नुभएका  उहाँले पीडितलाई राहतको प्याकेज ल्याउने आश्वासन दिएर मात्र जाने गरेको अधिकारीले दुखेसो पोख्नुभयो । अधिकारीले भन्नुभयो, “प्रचण्ड माडी आउने भएपछि मेरो घर वरपर  सुरक्षा ब्यबस्था कडा बनाइन्छ । वाइसीएल प्रहरी नेता तथा कार्यकर्ताहरुले मेरो घर घेर्न थाल्छन् ।” यसमा मलाई अचम्म लाग्छ । “बरु यस्तो गर्नुभन्दा मलाई एकपटक भेटेर राम्रोसँग कुराकानी गर्दापनि हुन्छ नि,” यो संगै उहाँले फेरि भन्नुभयो, “प्रधानमन्त्री दाहालले पीडितसंग बहस गरेर हाम्रा मागहरु संवोधन गरिदिए मात्र पुग्छ, यहाँभन्दा अरु हामीले राज्यसंग अपेक्षा गरेका छैनौं,” अधिकारीले भन्नुभयो ।

घटनामा परी ६ जना बालबालिकाले ज्यान गुमाएका थिए । घाइते भएका ७ बालबालिकाले कठोर पीडा अझै झेलिरहेका छन् । घाइतेमध्ये १२ जना शारीरिकरुपमा अपाङ्गता छन् । ती घाइते काम गरेर खान सक्दैनन् । तिनीहरू अहिले पनि औषधि सेवन गर्नुपर्ने अवस्थामा छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय कानुनको पूर्णरुपमा उल्लङ्घन भएका यस्ता घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडितलाई शीघ्र न्याय दिने कुरामा सरकारको पनि ध्यान पुगेको छैन । यसैबीच सोही घटनाको स्मरणमा बाँदरमुढे घटना पीडित समितिले बिगतका बर्षभन्दा यस बर्ष फरक र भिन्न तरिकावाट मृतकप्रति श्रद्धासुमन र घाइतेप्रति शिघ्र स्वास्थ्यलाभको कामना सहित लक्ष्यदिप प्रज्वलन गरिने पीडित समितिका उपाध्यक्ष लेखनाथ अधिकारी  (कृष्ण) ले जानकारी दिनुभयो

  • २३ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • Nabintech