कोहलपुर,बाँके: बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै गएका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमण लगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।
अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा.बद्री चापागाईले वताए । उनले गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगतरुपमा सरसफाइमा ध्यान दिन आग्रह गरे ।
उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को घाम र गर्मीबाट बच्न सुझाव दिएका छन । बाँकेस्थित साइनिङ अस्पताल, आइएनएफका अनुसार एक महिनाको अवधिमा करिब एक हजार छालाका बिरामीको जाँच भएको छ । साइनिङ अस्पताल आइएनएफका कुष्ठरोग प्रमुख मङ्गल थारुले केही शङ्कास्पद कुष्ठरोग बाहेक अधिकांश छाला चिलाउने, दाद र लुतोलगायतका छालाका बिरामी आइरहेको जानकारी दिए ।
उनले भने, “बिरामी आइरहेका छन् र उपचारपछि घर फर्केका छन् ।” जिल्लाको कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, खजुरा, बैजनाथ र नेपालगञ्ज उपमहानगरपालिकाबाट छालाका बिरामी अस्पताल आउने गरेको बताइएको छ । प्रमुख थारुले गर्मी बढेपछि छालाका बिरामी आउने क्रम पनि बढेको उल्लेख गर्दै अवस्था हेरेर जाँच गरिएको बताए । चिकित्सकका अनुसार खासगरी गर्मीयाममा नै छालाका रोगका बिरामी वृद्धि हुने गर्दछ ।
यता कोहलपुरमा समेत बढ्दो गर्मिसंगै अस्पतालहरुमा छाला सम्वन्धि रोगका विरामीहरु आउनेक्रम बढेको स्विकार्दै कौशिल्या अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद न्यौपानेले गर्मि मौसममा काछ लाग्नु,छाला चिलाउनु घमौरा आउनु सामान्य भएपनि एलर्जि सहन नसक्नेहरु अस्पताल आईरहेको वताए । उनले यस्ता गर्मिका कारण हुने विभिन्न छाला सम्वन्धि रोगहरु र एलर्जिलाई घराएसि उपचार विधि अपनाउन सकेपनि अस्पताल सम्म आई रहनुनपर्ने सुझाव दिन्छन । अत्याधिक शरीर चिलाएमा निम, पाती प्रयोग गर्नुपर्ने काछ लागेमा काचो तोरीको तेल र पानीले मालिस गर्दै काछ लागेको भागलाई केहि खुकुलो राख्नुपर्ने सुझाव दिंदै निर्देशक न्यौपानेले शरीरवाट पसिना बगेपछि नुहाएर सफा गर्नुपर्ने र प्रसस्त पानी पिउनुपर्ने वताउछन । बाँकेमा केही दिनअघि यहाँको तापक्रम ४४ दशमलव दुई डिग्री सेल्सियससम्म पुगेको थियो ।