१३ मंसिर २०८१, बिहीबार

अतिक्रमित जग्गा प्रकरण: सुस्तायो कोहलपुर नेपालगञ्जले चलायो डोजर

जग्गा खालि गर्ने बिषयमा बिभिन्न निकाय चहारेर थाकेको नगरपालिका अहिले कुहिरा भित्रको काग जस्तै अलमलमा

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:सरकारी जग्गा अतिक्रमण गरि भुमिहिन, सुकुम्वासिको नाममा जग्गा कब्जा गरि बसेकाहरुले अटेर गरेपछि नेपालगञ्ज उपमहानगरले डोजर प्रयोग गर्दै जमिन खालि गरेको छ भने यता कोहलपुरले अन्तिम पटक सर्वदलिय भेलाको म्यान्डेट पाएपनि कोहलपुर ११ मा रहेको क्रिकेट मैदान वरपरको जग्गा खालि गर्न सकेको छैन ।

खालि गराउन गृह मन्त्रि रवि लामिछानेले ७५ जिल्लामा परिपत्र जारी गरेपनि तत्कालिन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले साथ नदिंदा खालि गर्न सकस भएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

पटक पटक जग्गा खालि गर्न सुचना जारी गरेपनि अटेर गरेपछि नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना भत्काउन सुरु गरेको छ । नेपालगञ्ज–९ खटकनपूर्वामा सरकारी जमिन अतिक्रमण गरी बनेका घरटहरा भत्काउन उपमहानगरले विहिवार दिउँसो डोजर चलाएको हो । घरटहरा हटाउन एक महिनाको सूचना टाँस गर्दा पनि बेवास्ता गरेकाले भत्काउन बाध्य भएको नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले बताए ।

“अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेकाले डोजर लगाउन बाध्य भएका छौं”, उनले भने, “अतिक्रमण हटाएर सरकारी जग्गाको संरक्षण गर्ने कार्यमा स्थानीयले पनि सहयोग गरिरहेका छन ।” नेपालगञ्ज उपमहानगरपालिका–९ का विभिन्न क्षेत्रमा रहेका सरकारी जग्गा तारवार गरी संरक्षण गर्दै आएको वडाध्यक्ष रेग्मीको भनाइ छ । यसअघि नेपालगञ्जका विभिन्न ठाउँमा नाला र सडक अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएको सडकपेटी तथा सरकारी जग्गा खाली गराउन समेत डोजर लगाइएको थियो । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट आफैँ डोजर लिएर अतिक्रमण गरी बनाइएका संरचना हटाउन निस्किएका थिए ।

नेपालगञ्जका अधिकांश ठाउँमा सडकपेटी अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएकाले सर्वसाधारण र सवारीसाधन आवागमनमा समस्या भएको छ । यस्ता अतिक्रमण हटाउन प्रमुख विष्ट आफैँ अगाडि सरेका हुन । सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम नरोकिएपछि बाध्य भएर त्यस्ता संरचना हटाउन आफैँ डोजर लिएर बजारमा निस्किएको विष्टले बताए । नेपालगञ्जलाई सफा, सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्न यो अभियान सुरु गरिएको उनको भनाइ छ । सडकपेटी कब्जा गरी बजार व्यवसाय सञ्चालन गर्दा सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न र सवारी चलाउन गाह्रो भएपछि त्यसलाई व्यवस्थित गर्न यस्तो काम सुरु गरिएको उनले बताए । बजारलाई सुन्दर र व्यवस्थित बनाउन अतिक्रमण हटाउन थालिएको नगरप्रमुख विष्टको भनाइ छ ।

कोहलपुर नगरपालिकाले यस अघि नै पुरानो वसपार्कका सबै घर टहरा डोजरको सहायताले हटाईसकेको छ भने सडक पेटि, नालि र बटुवा हिडने बाटो अबरुद्ध गरेका स्थानहरु समेत खालि गरिसकेको छ । तर कोहलपुर नगरलाई प्रस्तावित अन्तरास्ट्रिय क्रिकेट मैदान वरपर अतिक्रमण गरि बसेका बस्ति हटाउन भने फलामका चिउरा चपाउनु सरह भएको छ । लामो समयदेखि नगर विकास समितीको लालपुर्जा भएको जग्गा विभिन्न वहानामा खालि गर्न कठिन भएको अवस्था रहेको भन्दै  कोहलपुरले पटक पटक सर्वदलिय सर्वपक्षिय भेलाले नगरलाई आफनो निर्णयलाई कार्यान्वयन गर्ने म्यान्डेट दिएपनि राजनैतिक पावर र शक्ति केन्द्रको आर्शिवाद पाएका भुमाफियाहरुको चलखेलका कारण उक्त जग्ग खालि हुन नसकेको नगरपालिका स्रोतले वताउने गरेको छ । बैशाख २३ गते अन्तिम पटक भन्दै नगरपालिकाको सभाहलमा बसेको सर्वदलिय सर्वपक्षिय भेलाले यो भेला नै यस बिषयकालागि अन्तिम पटक भन्दै उक्त जग्गा खालि गराउन अन्तिम म्यान्डेट दिएको थियो । तर उक्त म्याण्डेटले समेत हावा खाएको छ अतिक्रमित जग्गा हटाउने वारे सुचना प्रकाशित गर्न वाहेक कोहलपुर नगरपालिकाले अरु केहि गर्न सकेको छैन ।

अन्तराष्ट्रिय क्रिकेट मैदान वरपर सात सय एकाउन्न घर टहरा रहेकोमा भुमिहिन दलित १७ जिल्लाका १ सय ७२ घरधुरी, भुमिहिन सुकुम्वासि १८ जिल्लाका १ सय ६३ घर धुरी रहेका छन भने अव्यवस्थित वसोवासि २७ जिल्लाका ४ सय १६ घर धुरीको संख्यामा रहेको प्रतिवेदन नगरपालिकाले यस अघि नै सार्वजनिक गरिसकेको छ। उक्त लगत अनुसार जग्गा जमिन भए नभएको बारे एकिन गर्दा भुमिहिन दलित ११ घरधुरीको र भुमिहिन सुकुम्वासि १ घर धुरीको अन्य जिल्लामा पनि जग्गा जमिन रहेको पाईएको थियो ।

यता सुकुम्वासिका नेताहरुले भने बैकल्पिक ब्यबस्थाविना उक्त जग्गा खालि गर्न नदिने भन्दै नेपालगञ्जमा पत्रकार सम्मेलन गरि सरोकारवालाहरुलाई चेतावनि समेत दिईसकेका छन । जग्गा खालि गर्ने बिषयमा बिभिन्न निकाय चहारेर थाकेको नगरपालिका अहिले कुहिरा भित्रको काग जस्तै अलमलमा परेको छ ।

रियल अन्तिम वार भुमाफियासँग, नविस कोहलपुरको अतिक्रमित जग्गा फिर्ता हुदै (भिडियो)

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech