१२ श्रावण २०८१, शनिबार

फेरिँदै राउटे समुदायको जीवनशैली
  • न्युज मानसराेवर

दैलेख:पछिल्ला दिनमा राउटे समुदायको जीवनशैली फेरिन थालेको छ । बसाइँसराइ, खानपिन तथा रहनसहन, रुचि तथा व्यवहारमा विगतको भन्दा फरक देखिन थालेको छ ।  प्रायः जसो चिसो महिनामा औल (बेसी) बस्ने र गर्मी महिनामा लेकमा बस्नु राउटे समुदायका विशेषता हुन् । राउटेलाई अहिले लेक र औलमा बस्नु एउटै जस्तो लाग्न थालेको छ । लेक र औलमा खासै भिन्नता महसुस नहुने गरेको राउटे समुदायका व्यक्तिहरूको अनुभव छ । जहाँ बसे पनि गर्मी हुने र पानी नपाइने समस्याले राउटे समुदाय खोलाका किनारमा बस्दै आएका छन् ।

दैलेख जिल्लाको गुराँस गाउँपालिका–१, महिना खोलामा भेटिएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले भन्नुभयो, “गाउँ गाउँमा सडक पुगे, सडककै कारण पानीका मुहान सुके, वनजङ्गलमा आगलागी भएका कारण हामी जङ्गलका राजालाई जङ्गलमै बस्न कठिन भएको छ ।”

राउटे मुखिया सूर्यनारायण शाहीको यो भनाइले जङ्गलमै रमाएर बस्ने राउटे समुदायको जीवन कष्टकर बन्दै गएको सङ्केत गर्छ । राउटेका व्यवहार केही फेरिए पनि दुःख भने उस्तै छन् । उहाँले भन्नुभयो, “पहिला जस्तो काठका सामग्रीसँग अन्न साटफेर हुँदैन, जङ्गलमा पर्याप्त मात्रामा पानी पाइँदैन । जङ्गल छाडेर अन्य समुदायको नजिक बस्न थालेपछि झन् ठुलो समस्यामा छौँ ।”

कर्णाली प्रदेश तथा सुदूरपश्चिमका पहाडी जिल्लाका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे पछिल्लो समय गर्मी बढेसँगै दङ्ग छन् । विशुद्ध प्राकृतिक वातावरणमा जीवन बिताउन मन पराउने घुमन्ते यो समुदायमा अहिले जलवायु परिवर्तनको असर परेको देखिन्छ  । जलवायु परिवर्तनबारे शब्द ज्ञान नभए पनि राउटे समुदाय यसका असरसँग भने राम्ररी जानकार छ । राउटेका स्पष्ट तीन मान्यता छन्, खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र एकै ठाउँ नबस्ने । पर्यावरणीय प्रभावले आहारामा कमी हुनु, बाह्य समाजसँग घुलमिल बढ्नु र जीवनयापनका लागि परनिर्भरता बढ्नुले राउटे समुदाय अहिले सङ्कटमा छ ।

मुखिया सूर्यनारायण अहिले आफूहरूलाई जङ्गलमा बस्न गाह्रो भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गलमै लामखुट्टे भेटिन थाले, पानीका मूल सुक्न थाले, कन्दमूल र बाँदर पनि पाइँदैनन् । यिनै समस्याले चाँडो चाँडो बस्ती सर्न थालेका छौँ । समुदायका सदस्यमा बिमार पनि धेरै लाग्न थालेको छ ।”

आफ्ना सदस्यको मृत्यु हुँदा मात्रै बस्ती सर्ने राउटे समुदाय अहिले एक ठाउँमा मुस्किलले बढीमा एक महिनासम्म बस्छ । तापक्रम वृद्धि र वनजङ्गल विनाशले पानीका मुहान सुक्दै जानु तथा कन्दमूल र बाँदर लोप हुँदै जानुले उनीहरू सङ्कटमा मात्र परेका छैनन्, परनिर्भर पनि बन्दै गएका छन् । कन्दमूल र बाँदरको सट्टा अहिले उनीहरू बजारको खाद्यान्न र खसी बाख्रामा भर पर्न थालेका छन् । राउटे समुदायका सदस्य पहिलेको तुलनामा बिरामी भएर थलिन पनि थालेका छन् । “पहिले जङ्गलमै औषधिमूलो गथ्र्यौं, सन्चो हुन्थ्यो,” मुखिया सूर्यनारायणले भन्नुभयो, “अहिले धेरै बिरामी हुन्छौँ, जङ्गली औषधीले पनि काम गर्न छोड्यो ।” बदलिँदो खानपिन, लामखुट्टेको टोकाइलगायतका कारणले उनीहरू समस्यामा छन् ।

चिकित्सा उपचारप्रति उनीहरूलाई त्यति विश्वास छैन । मुखिया सूर्यनारायण शाहीले भन्नुभयो, “अस्पताल त हाम्रा लागि होइनन् । अरूका लागि बनाइएका अस्पतालमा हामी जानु हुँदैन । हामीलाई जडीबुटीले निको हुन्थ्यो, अब त औषधी गर्ने जडीबुटी पनि जङ्गलमा पाइन छाड्यो  ।”

राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले बदलिँदो जीवनशैली र जलवायु परिवर्तनका कारण राउटेमा विभिन्न रोगको सङ्क्रमण देखिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “राउटे समुदाय परिवर्तन हुनुमा मुख्यतया उनीहरूको खानपिनमा आएको फेरबदल रहेको बताउँदै प्राकृतिक खानाको साटो सहर बजारतिरको खाना खान थालेदेखि उनीहरू धेरै बिरामी पर्न थालेका छन् ।” कन्दमूल र बाँदर पाइन छाडेपछि घना जङ्गल छाडेर राउटेहरू गाउँ बस्तीको नजिक बस्न थाले । यसले हावापानी मिलेन । राउटेहरू बाह्रै महिना एकसरो कपडा मात्रै लगाउँछन् ।

सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले पैसा छोएमा पाप लाग्छ भन्ने यो समुदाय गाउँमा आएर आफूले तयार गरेका काठका भाँडाकुँडासँग धान र अन्य खाद्यान्न साटेर लैजाने गरेको बताउनुभयो ।

राउटे बस्तीमा महिलाले काठको ओखलमा धान कुट्थे तर अहिलेको पुस्ताले परम्परागत काठका भाँडा बनाउन जान्दैनन् । पैसा छोए पाप लाग्छ भन्ने समुदाय अहिले पैसाका लागि मरिहत्ते गर्छ । अहिले सरकारले दिने मासिक भत्ता, काठका सामग्री बिक्रीबाट भएको आम्दानी र मागेको पैसाले उनीहरू मदिरा र सुर्तीजन्य पदार्थहरू सेवन गर्छन् । यसै कारण उनीहरूमा अहिले रोग प्रतिरोधात्मक क्षमता कम हुँदै गएको छ ।

राउटे बस्तीमा बालकदेखि वृद्धसम्मले मदिरा र सुर्तीजन्य पदार्थ सेवन गरेको देख्न पाइन्छ । जङ्गलमा पाइने प्राकृतिक चिज मासिँदै गएकाले उनीहरू मानव बस्ती नजिकैका जङ्गलमा बस्न थाले । त्यसयता उनीहरूले अन्य समुदायका नराम्रा कुराहरूको अनुसरण मात्रै गरे, पुर्खादेखिको सिप र आहार–व्यवहार भुल्दै गए ।

फिरन्ते जीवन बिताइरहेको राउटे समुदायको सङ्ख्या अहिले १३७ मात्रै छ । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई स्थायी परिचयपत्र दिएको छ । स्थायी परिचयपत्रमा नाम, थर, जन्ममिति, ठेगाना, बुवा, आमाको नाम र पतिपत्नीको नाम उल्लेख छ । यसै कारण गुराँस गाउँपालिकाले राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दछ । सरकारले राउटेका लागि उमेर हद नतोकी बच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मासिक दुई हजार रुपियाँका दरले भत्ता दिँदै आएको छ ।

आफ्नो भान्साभन्दा बाहिर पाकेको खाना नखाने कठोर संस्कृति बोकेको राउटे समुदायको जीवनशैलीमा पछिल्लो समय व्यापक फेरबदल आएको छ । उनीहरू आधुनिक मानव बन्न त चाहँदैनन् तर चाहेर वा नचाहेर आधुनिक जीवनशैली अनुसरण गरिरहेका छन् । पछिल्लो समय राउटे समुदायलाई परनिर्भरताले नराम्ररी गाँजेको छ ।

राउटे प्रतिष्ठानकी अध्यक्ष अधिकारीले भन्नुभयो, “अन्य समुदायको नजिक आएर बस्न थालेपछि राउटे समुदायमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी देखिन थाल्यो । पहिले पैसा छोए पाप लाग्छ भन्नेहरू अहिले हाकाहाकी पैसा माग्छन् ।”

कोहीसँग कुरा ग¥यो वा कसैले फोटो खिच्यो भने यसको बदलामा उनीहरू ‘पैसा देउ न’ भन्छन् । राउटेले बनाएका सामग्रीहरू खरिद नहुने समस्याले राउटेमा परनिर्भरता बढेको छ । राउटेले निर्माण गरेका कोसी, मदुस, पिर्कालगायतका सामग्री बिक्री नहुने भएपछि राउटेले आफूलाई प्रयोग गर्नबाहेक अन्य निर्माण नै गर्दैनन् ।

  • २९ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech