४ श्रावण २०८१, शुक्रबार

बाँकेका सामुदायिक वनमा निर्मित कृत्रिम पोखरीबाट वन्यजन्तुलाई सहजता

निजी वन व्यवस्थापनतर्फ नरैनापुर र ढकेरीमा २०–२० हजार उच्च गुणस्तरीय बिरुवा उत्पादनका लागि हाई टेक नर्सरी निर्माण

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:बाँकेका विभिन्न सामुदायिक वनमा वन्यजन्तुका निम्ति पानी पिउने व्यवस्थाका साथ बनाइएका मानवनिर्मित कृत्रिम पोखरीहरू प्रभावकारी बन्दै गएका छन । गर्मी समयमा पानीको मूलसमेत सुक्न गई वनक्षेत्रमा रहने विभिन्न वन्यजन्तुहरूलाई पानी पिउन समस्या हुने र त्यसको समाधानका लागि विभिन्न सामुदायिक वनक्षेत्रमा इलममार्फत् बनाइएका मानवनिर्मित कृत्रिम पोखरीहरू प्रभावकारी बनेका हुन् ।

विगत लामो समयदेखि वन, निकुञ्ज तथा वन र निकुञ्ज नजिकका वन क्षेत्रमा रहेका समुदाय तथा जैविक मार्गको संरक्षण लगायतका क्षेत्रमा काम गर्दै आएको एकीकृत भू–परिधि व्यवस्थापन आयोजना इलमले बाँकेका विभिन्न सामुदायिक वनहरूमा कृत्रिम पोखरी निर्माण गरी वन्यजन्तुहरूका लागि पानी खाने व्यवस्था गरिदिएको हो ।

जिल्लाको कोहलपुर नगरपालिकाको दुई वटा सामुदायिक वनमा तीन वटा र राप्तीसोनारी गाउँपालिकाको तीन वटा सामुदायिक वनमा तीन वटा गरी कुल ६ वटा कृत्रिम पोखरीमार्फत् वन्यजन्तुका लागि पानी खाने व्यवस्था गरिदिएको इलमका कोहलपुर कार्यालयका फिल्ड प्रबन्धक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिकाको सिर्जना सामुदायिक वन उपभोक्ता समूहभित्र दुई वटा, सीता सामुदायिक वन उपभोक्ता समूहमा एक वटा, राप्तीसोनारीको सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूह, कोटहीदेवी सामुदायिक वन उपभोक्ता समूह तथा घण्टेश्वरी सामुदायिक वन उपभोक्ता समूहमा एक एक वटा गरी छ वटा कृत्रिम पोखरी निर्माण गरिएको उनले वताए।

फिल्ड प्रबन्धक थापाका अनुसार प्राविधिक सम्बन्धीका कार्यक्रमहरू सम्बन्धित मन्त्रालय अन्तर्गतका कार्यालयहरू र अन्य सामुदायिक सम्बन्धी कार्यक्रमहरू आयोजनामार्फत गरिँदै आइएको छ । सामुदायिक वनमा कृत्रिम पोखरी बनाउने कार्य डिभिजन वन कार्यालयमार्फत गरिएको उनले जनाएका छन।
उनका अनुसार इलमले देशका तराई क्षेत्रका विभिन्न १९ जिल्लामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । इलमले भू–परिधि स्तरमा संरक्षित क्षेत्र र जैविक मार्ग व्यवस्थापन, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन मानव वन्यजन्तु द्वन्द्व, वन्यजन्तुमैत्री पूर्वाधार विकास कार्यक्रम दिगो वन व्यवस्थापन, पर्या–पर्यटन, वनमा आधारित जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापनमा लैङ्गिक समानता र सामाजिक समोवेशीकरण तथा वातावरण तथा वातावरणीय सुरक्षालगायतका क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ ।

विशेषगरी बाँके र बर्दियाका सामुदायिक विद्यालय, बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, कम्दी जैविक मार्ग, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कर्णाली नदी जैविक मार्ग र आसपासका समुदायमा मानव, वन्यजन्तु, वातावरणलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

आयोजनाले भकारो सुधार, सुरक्षित खोर निर्माण, तारजाली निर्माण, सचेतनामूलक वाल पेन्टिङ, नर्सरी निर्माण, तटबन्ध निर्माण, वन्यजन्तु व्यवस्थापन तालिमलगायतका क्षेत्रमा काम गरिरहेको बताईएको छ । बाँकेको कम्दी जैविक मार्गका ३० घरधुरीलाई सुरक्षित बाख्राको खोर निर्माण गरिएको, बँदेल, चित्तललगायतका जङ्गली जनावरबाट स्थानीयको अन्नबाली जोगाउनका लागि विभिन्न सामुदायिक वन क्षेत्र र बस्ती क्षेत्रबिच करिब चार किलोमिटर तारजाली निर्माण गरिएको लगायतका कार्यहरू यस वर्ष सम्पन्न गरिएको थापाले जानकारी दिए ।

समशेरगन्ज सब डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले इलमसँगको सहकार्यमा वन्यजन्तुको खाना तथा आहारा वनक्षेत्र भित्रै व्यवस्थापन लगायतका वन्यजन्तुको वासस्थान सुधार सम्बन्धी १० वटा पानीको स्रोत निर्माण, २० हेक्टर वनक्षेत्रमा घाँसे मैदानको निर्माण, संरक्षण शिक्षा, सामुदायिक वनलाई दिगो वन व्यवस्थापन, सुशासन, कार्यालय व्यवस्थापन लगायतका कार्यहरू गरिएको जानकारी दिए । उनले निजी वन व्यवस्थापनतर्फ नरैनापुर र ढकेरीमा २०–२० हजार उच्च गुणस्तरीय बिरुवा उत्पादनका लागि हाई टेक नर्सरी निर्माण, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि मेस जाली, सुधारिएको खोर र गोठ निर्माणलगायतका कार्यहरू इलमसँगको समन्वय र सहकार्यमा गरिएको जानकारी दिए ।

सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुमन पौडेलले अत्यधिक गर्मीका कारण वनक्षेत्र भित्र रहेका पानीका मुहान सुक्दै गएका बेला मानवनिर्मित पोखरीले वन्यजन्तुका लागि अत्यन्तै प्रभावकारी काम गरेको बताए । उनले पोखरी निर्माणले गर्दा वन्यजन्तुको आहार व्यवस्थापनका साथै सुरक्षासमेत बढेको उल्लेख गरे ।

उनले कृत्रिम पोखरी नहुँदा वन्यजन्तु पानी खोज्दै मानव बस्तीतर्फ जाँदा हुनसक्ने मानव र वन्यजन्तुबिचको द्वन्द्व पनि नहुने र उनीहरूको सुरक्षासमेत हुने भएकाले गर्मीयाममा मानवनिर्मित पोखरी अत्यन्तै प्रभावकारी बनेको बताए ।

  • २ असार २०८१, आईतवार प्रकाशित

  • Nabintech