नेपालगञ्ज: नेपाल पत्रकार महासंघ बाँकेको जग्गा अतिक्रमणका विषयमा महासंघ लगायत पत्रकार सम्बद्ध विभिन्न संगठनहरुले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आज संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै महासंघ लगायत संगसंगठनले महासंघले भोगाधिकार पाएको जग्गा अतिक्रमणको भत्सर्ना गरेका हुन् ।
“महासंघले भोगाधिकार पाएको जग्गामा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन र नेपालगञ्ज ४ को टोल विकास समितिका अध्यक्ष कर्ण बहादुर मल्लको निर्देशन र नेतृत्वमा रहेको समूहले विना कुनै सहमति रातारात पिसिसी सडक निर्माण गर्ने कार्यको घोर निन्दा र भत्सर्ना गर्दछौं,” विज्ञप्तीमा भनिएको छ । महासंघ बाँके अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य, प्रेस युनियनका उपाध्यक्ष कमल खत्री र प्रगतिशील पत्रकार संघका अध्यक्ष तिलक गाउँलेले संयुक्त विज्ञप्ती जारी गरेर उक्त कार्यको निन्दा गरेका हुन् ।
महासंघको कार्यालय रहेको जग्गामा एक बर्ष अघि नेपालगञ्ज उपमहानगरपालिकाले बजेट विनियोजन गरी पर्खाल लगाउने प्रयास गरिरहँदा पनि सोही समूहले अबरुद्ध गरेर जग्गा संरक्षणको कार्यमा बाधा पुर्याइरहेको विज्ञप्तीमा उल्लेख छ । जग्गा संरक्षणको अभियानमा सहयोग गर्न राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी लगायत सरोकारवाला निकायलाई ऐक्यबद्धताका लागि अपिल गर्दै भोगाधिकार पाएको जग्गामा निर्माण भइरहेको सडकको काम तत्काल रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ । यसअघिको प्रतिबद्धता विपरीत महासंघको जग्गा खण्डित गरी अतिक्रमण गर्ने कार्य अख्तियारका दुरुपयोग तथा कानुनी राज्यको उपहास भएको उल्लेख गरिएको छ । पत्रकार महासंघ बाँके शाखाले पत्रकार सम्मेलन गरेर जग्गा अतिक्रमणबारे जानकारी गराएको थियो । महासंघ अध्यक्ष भण्डारीले जोरजबर्जस्ती गर्ने विरुद्ध कानुनी उपचार खोजिने बताए ।