१० मंसिर २०८१, सोमबार

बाँके लगाएत लुम्विनीका विभिन्न जिल्लामा बाढिको कहर, सडक अवरूद्ध

बाँकेको राप्ती नदी लगायतमा पानीको वहाब ह्वात्तै बढ्यो

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: अविरल वर्षाका कारण पहिरो जाँदा लुम्बिनीका विभिन्न सडक अवरूद्ध भएका छन। सल्यानको कपुरकोट नजिकै पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।

पानी परिरहेको तथा माथिबाट लेदोमाटो खसिरहेकाले पहिरो पन्छाउन कठिन भएको उनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार सिस्ने गाउँपालिका ६ रानीकोटमा पनि पहिरो खस्दा मध्य पहाडी लोकमार्गको दाङ सडक अवरूद्ध भएको छ। त्यस्तै दाङको तुलसीपुर – घोराही सडक खण्डको हापुर खोलामा आएको बाढीका कारण साना सवारी साधन संचालनमा रोक लगाइएको छ।

उक्त खोलामा मोटरसाइकल लगायत साना सवारी संचालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए। सोही सडक खण्ड अन्तरगत घोराहीको सेवार खोलामा निर्माणाधीन पुलको डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरु बढीले बगाएको छ। बाढीले ह्युमपाइप बगाइदिएपछि बाइपास हुँदै सवारी साधन सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार भाइरल रोड हुँदै अधिकांश सवारीसाधन संचालनमा आएका छन्। यो खोलामा पक्की पुल निर्माणको काम यही वर्षदेखि सुरु गरिएको भएपनि पिलर ठड्याउने काम मात्रै भएको छ ।

वर्षाका कारण जिल्लाका खोला तथा नदीहरुमा पानीको वहाब ह्वात्तै बढेको छ । राप्ती नदीको तटीय क्षेत्र र बबइ नदी क्षेत्रका सर्वसाधारणलाइ सतर्क रहन आग्रह गरिएको छ । प्यूठानका प्रहरी प्रमुख डिएसपी इश्वर थापाले दाङको भालुवाङ –प्यूठान सडक खण्ड अन्तरगत माण्डबी गाउँपालिकाको गर्जेनीमा झरेको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ।

त्यस्तै प्यूठानदेखि दाङको बंगलाचुली सडक खण्डको ताछ्ने भिर नजिकै पनि पहिरोका कारण उक्त सडक खण्ड अवरुद्ध भएको डिएसपी थापाले बताए। दुवै सडक खण्ड खुलाउने प्रयास जारी रहेको डिएसपी थापाले बताए । बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले राप्ती नदी लगायतमा पानीको वहाब ह्वात्तै बढेको हुँदा सा‍वधानी अपनाउन सचेत गरिएको बताए।

दाङको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदिको बाढीमा फसेका मध्ये दुई जनाको उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन् ।   दाङको राजपुर गाउँपालिका–२ का किसान दूध बिक्री गर्न लमही आएर फर्किने क्रममा राप्ती नदिको बाढीमा फसेका थिए ।

तीन जना सँगै रहे पनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेको अवस्थामा उनीहरूलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको थियो । उनीहरूलाई सशस्त्र प्रहरीको ४१ नम्बर रिजर्भ गण अर्जुन खोलाबाट खटिएका सुरक्षाकर्मीले सकुशल उद्धार गरेको  हो ।

राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले  बताए  । दूध बिक्री गर्न सँगै गएका १८ वर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ

  • २२ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech