१० मंसिर २०८१, सोमबार

बाँकेको राप्ति नदिले सतर्कता तह नाघ्यो

नदि तटिय क्षेत्रका वासिन्दाहरुलाई सतर्क रहन सूचना जारी

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँके लगाएत राप्ति नदिको शिरान सम्म दुई दिनदेखि निरन्तर वर्षा भएपछि बाँकेमा राप्ती नदीले पानीको सतह सतर्कताको विन्दु नाघेको छ । सतर्कता तह नाघेसंगै नदि तटिय क्षेत्रका वासिन्दाहरुलाई सतर्क रहन सूचना जारी गरिएको छ ।

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कताको विन्दु ६ मिटर पार गरिसकेकाले नदी वरिपरिका बाँकेका दर्जनौ गाउँ बस्ती बाढीको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जनाए ।

शनिबार दिउँसो १२ बजे राप्ती नदीमा पानीको सतह सतर्कताको बिन्दु पार गरेर ६ मिटर ४० सेन्टिमिटर पुगेको र अझै बढ्दै गएकाले जिल्लाका धेरै गाउँ बस्ती जोखिममा पुग्ने आँकलन गरिएको छ ।

बाढिका कारणले जोखिम उत्पन्न हुन सक्ने सबै ठाउँमा स्थानीयलाई अलर्ट गरेर स्थानीय विपद् व्यवस्थापन समितिहरुलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीको भनाई छ ।

उनका अनुसार कसुममा पानीको सतह सात मिटर पुगेपछि जिल्लाका धेरै ठाउँ डुबान र बाढीमा पर्ने हुँदा सबैलाई अलर्ट गरेर तयारी अवस्थामा राखिएको छ ।

दाङ, रोल्पा, प्युठानमा लगातार केहीदिनदेखि पानी परेकाले नदीको सतह बढ्दै गएको हो । शनिबार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको समितिले जनाएको छ । सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताए ।

राप्ती नदीको बाढी तल्लो तटिय क्षेत्रमा आइपुग्न करिव चारदेखि पाँच घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह ६ मिटर पुग्ने वित्तिकै सतर्कता स्वरुप नदी छेउछाउमा अलर्टको साइरन बजाइन्छ । नदीको सतह ७ मिटर सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनी डुबानमा पर्दै आएका छन् ।

नदीको सतह बढेर ६ मिटर ४० सेन्टिमिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरुमा हाई अलर्ट जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

उनले जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको बताए । आवश्यक परेमा हेलिकोप्टर लगायतलाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ रिजालको भनाई छ ।

  • २२ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech