राप्ती सोनारी :राप्ती नदी र अन्य खोला नालामा आएको बाढीले विद्युतका पोल र तार ढालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका दर्जन बढी गाउँहरूमा विद्युत सेवा अवरुद्ध भएको छ ।
मर्मत सम्भार जारी रहेकोले दुवै पालिकाका केही गाउँमा विद्युत सेवा सुचारु भएपनि अझै धेरै ठाउँमा सेवा सुचारु हुन सकेको छैन । पानी घटेपछि मर्मतको काम सुरु गरिएकोले सोमबार बेलुकाबाट खोकरी, बक्सहवा, बसेरी र दुबेरी गाउँको विद्युत सेवा सुचारु भएको नेपाल कुसुम ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले जनाएको छ ।
यी चार वटा गाउँमा सोमबार बेलुकीबाट विद्युत सुचारु भएको कुसुम ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर केसीले बताउनुभयो । तर अझैपनि मर्मतको काम बाँकी रहेकाले सुनखरे र चुनाहा गाउँको विद्युत सेवा सुचारु हुन नसकेको उहाँले बताउनुभयो ।
सोही प्रकारले नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढी र वर्षाले विद्युत पोल र तारहरूमा क्षति भएपछि नरैनापुरका धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको बताउनुभयो । उहाँले मर्मत सम्भारका लागि पटकपटक सम्बन्धित कार्यालयलाई आग्रह गरेपछि मर्मत कार्य सुरु गरिएपनि अझै धेरै ठाउँमा बिद्युत अनियमित नै रहेको बताउनुभयो। राप्ती नदीमा आएको बाढीले शनिबार दिउँसो राप्ती सोनारी र नरैनापुरका विभिन्न स्थानमा विद्युत पोल र तारमा क्षति पुर्याएपछि सो क्षेत्रका दर्जन बढी गाउँको बिद्युत सेवा अवरुद्ध भएको थियो ।
राप्ती सोनारी १ का स्थानीय बासिन्दा कृष्ण चौधरीले विद्युत नहुँदा सो क्षेत्रको जनजीवन निकै प्रभावित भएको र खासगरि रातीको समयमा ठुलो सास्ती भोग्नु परेको बताउनुभयो। राप्ती सोनारी गाउँपालिका १ अन्तर्गतका नदी बारीका गाउँहरूमा पनि विद्युत पोल तथा तारमा अविरल वर्षाले क्षति गरेको कुसुम सामुदायिक ग्रामीण विद्युत सहकारी संस्थाले जनाएको छ ।
सो सहकारी संस्थाले राप्ती नदी पार गरेर सौरी–भम्का, बैरिया–अमुवा, बाँसखोली–भवानीयापुर, बाघखोर–सुनखरे, चप्परगौडी–चुनाहा र लौकी–खोकरी गरी विभिन्न ६ स्थानबाट बिद्युत सेवा विस्तार गरेको छ । राप्ती नदीमा हरेक वर्ष आउने बाढीले यी स्थानका बिद्युत तार तथा पोलहरूमा बाढीले क्षति पुर्याउँदै आएको छ ।
सोही प्रकारले नरैनापुरका विभिन्न ठाउँमा रहेका विद्युत पोल, तार र अन्य उपकरणमा कहिले हावा हुरी त कहिले वर्षा र बाढीले क्षति पुर्याउँदै आएको छ । उक्त समस्याको दीर्घकालीन रूपले समाधान गरिदिन स्थानीय बासिन्दाले पटक पटक सङ्घीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुसंग माग गर्दै आएका छन् ।