बाँके: एकतिरबाट राप्ति नदिले र एकतिर बाट डुढुवा नदिले घेरिएको बाँकेको डुढुवा गाउँपालिका वडा नम्बर १ मा पर्ने छिटनपुर्वा चौफेरि बस्ती टापु जस्तै मानिन्छ। बाँके जिल्लामा रहेका राप्ति आसपासका यी बस्ती बर्सेनि डुबानमा पर्ने गरेका छन् ।
राप्तिको बाढीले वडा नम्बर १ को छिटनपुर्वा देखि पूर्व जाने सडक पुरै भत्किएर भताभुङ्ग भएको छ। यहाँ पैदल सम्म हिँड्न नसक्ने अवस्था छ यो सडक हुँदै यहाँका करिब ३ हजार बासिन्दा ओहोरदोहोर गर्ने गर्दै आएका थिए तर यतिबेला राप्ति नदीमा आएको बाढीले सडक पुरै भत्काइदिएको कारण आवतजावत ठप्प भएको स्थानीय नागेश्वर यादवले बताउनुभयो।
यति मात्रै होइन यहाँ बिजुली प्रसारण गर्ने तयारी भइरहेको थियो । ठाउँ ठाउँमा पोलहरू भाँचिएका र बगेका छन् । अब यहाँ बिजुली प्रसारण गर्ने जुन उद्देश्य छ त्यसमा समेत आघात पुगेको चौफेरिका पीडित सेवक राम माहुतले बताउनु भयो।
पुल कल्भर्ट बगेको र भत्किएको छ यहाँबाट पैदल गर्ने यात्रीलाई समेत सास्ती भएको छ। साइकल डोर्याउन पनि मुस्किल छ जसको कारण यहाँबाट पूर्वतर्फ जाने र पश्चिमतर्फ नेपालगन्ज आउजाउ गर्ने मार्ग रोकिएको छ। तर पनि अहिले यहाँसम्म कुनै सरकारी प्रतिनिधिहरू आई नपुगेको स्थानीय देवीप्रसाद यादव र रामसुरेश मौर्यको गुनासो रहेको छ।
राप्ति नदिले घेरिएका बस्तीका बासिन्दाको मुख्य यातायातको साधन लडिया गाढाहरू नै हुन् । तर बाढीले सडक भत्काएपछि ती गाढाहरू पनि गुड्न नसक्ने अवस्था भएको चौफेरिका स्थानीय कृषक राजकराम यादव बताउनुहुन्छ।
हिँडडुल गर्न मात्र होइन राप्ति नदिको बाढि बस्ती डुबानमा परेपछि अहिले बिहान बेलुकाको चुल्हो बल्न समेत मुस्किल परेको स्थानीय महिला रमावति मङताले बताउनुभयो।