बाँके:आज दिउँसो देशका केही ठाउँमा ठूलो पानी परेको छ । काठमाण्डौको पानीपोखरी, ललितपुरको टीकाथली, इलाम, मोरङ, कास्की, बाग्लुङ, प्यूठान, दाङ, दैलेख, बर्दिया, बाँकेलगायत जिल्लाका केही ठाउँमा ठूलो पानी परेको छ ।
पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै बाँकेको सिक्टामा ६१ मिलिमिटरभन्दा धेरै पानी परेकाे छ । बाँकेको सिक्टा, बर्दियाको रम्भापुर वर्षामापन केन्द्र र आसपास हल्कादेखि मध्यम वर्षा भएको र स–साना खोलामा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचनाले आग्रह गरेको छ ।
आज काेशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।