कोहलपुर,बाँके: माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुर्नयोग (रिटोटलिङ) को नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।
त्यसरी सार्वजनिक गरिएको नतिजा अनुसार हालसम्म ५९ जना विद्यार्थीले ४ जीपीए ग्रेड ल्याएका छन् । २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । दुई जना विद्यार्थीको भने एनजी आएको नतिजा परिवर्तन भएर चार जीपीए आएको छ । त्यस्तै कतिपय एनजी आएका विद्यार्थीको नतिजा भने १.६ देखि ३.६ जीपीएसम्म समेत आएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले धेरै अंक इन्ट्री गर्दा, केही टाइपिङ गलत हुँदा नतिजा फरक परेको जनाएको छ । गत असार १३ गते सार्वजनिक गरिएको नतिजामा १८६ विद्यार्थीले ४ जीपीए ल्याएका थिए । ४७.८६ प्रतिशत विद्यार्थी पास भए भने ५१.१४ प्रतिशत विद्यार्थीको नतिजा एनजी (ननग्रेडेड) आएको थियो ।
२०८० सालको परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये मध्ये दुई लाख ४२ हजार ९२ विद्यार्थी पास भएका थिए भने दुई लाख २२ हजार ६९३ विद्यार्थीको एनजी आएको थियो ।