१२ मंसिर २०८१, बुधबार

वास्तविक मुक्तिको पर्खाईमा मुक्त कमैया कमलरी, कोहलपुरमा शुभकामना आदान प्रदान

सरकारसँग भएको १० बूँदेमध्ये तीन बुँदा मात्र कार्यान्वयनको चरणमा

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:दास सरह रहेको कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको २४ औं वर्ष पुगिसक्दापनि पुनःस्थापना र व्यवस्थापन अभावले वास्तविक मुक्तिको अनुभूति गर्न नसकिएको गुनासो व्यक्त गरिएको छ ।

बुधवार २४ औं मुक्ति दिवसलाई पुनःस्थापना र उचित व्यवस्थापनको दबाबका रुपमा मनाएका मुक्त कमैयाहरुले बाँकेको कोहलपुरमा शुभकामना आदान–प्रदानको व्यानरमा र्याली प्रदर्शन र बहसको आयोजना गरेका हुन् ।

कार्यक्रममा उनीहरुले आफुहरुको पुनःस्थापना तथा उचित व्यवस्थापन पूर्ण रुपमा हुन नसकेको भन्दै गुनासो गरे । मुक्त कमैया कमलरीहरुले मुक्तिबाट आफुहरु खासै उत्साहित नभएको बताए । कमैया प्रथाको अन्त्य भएको २४ बर्ष भईसक्दा समेत पूर्व कमलरी सुमिता थारुले आफुहरु अझै वास्तविक मुक्तिको पर्खाईमा रहेको बताइन  ।

सरकारले २०५७ साल साउन २ गते देशभरबाट १८ हजार २ सय ८८ जनालाई कमैया मुक्त घोषणा गरेको थियो । ‘मालिकको घरमा नारकीय दासताको जीवनबाट मुक्त भएको २४ औं बर्ष पुग्दा समेत बिडम्बना भन्नुपर्छ हामी खुसी छैनौ,’ मुक्त कमलरी बिकास मञ्च बाँकेका अध्यक्ष सुमिताले भनिन् ।

कमलरीहरुको माग घोषणा पत्रमा मात्रै सिमित रहेको गुनासो गर्दै उनीहरुले २०७० सालमा राजधानी केन्द्रित आन्दोलनका समयमा मुक्त कमैया र सरकारबीच १० बुँदे सहमति कार्यान्वयनमा दबाब दिइरहेको बताए । उक्त सहमति अझैसम्म पनि कार्यान्वयन नभएको भन्दै सरकारसँग भएको १० बूँदेमध्ये तीन बुँदा मात्र कार्यान्वयनको चरणमा रहेको अन्य सात बुँदाहरू अझैपनि कार्यान्वयनका लागि सरकार उदासिन रहेको मुक्त कमैया समाज लुम्बिनी प्रदेश कोषाध्यक्ष चिनका थारुले बताए ।

‘सरकारले हामीलाई जेल मुक्त त गरयो तर सजाय भने अझै दिइरहेको छ,’ उनको भनाइ थियो, ‘हामी राज्यको चासोको विषयनै बनेनौ, सरकारले कमैया मुक्ति पछि आशा मात्रै देखायो ।’ त्यसो भनिरहँदा उनी निरास देखिए ।

पुर्व कमैयासंग जग्गा भएपनि लालपुर्जा छैन, लालपुर्जा भएकाले त्यसको उपयोग गर्न नसकेको उनीहरुको भनाइ छ । कार्यक्रममा कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले पूर्व कमैयाहरुको समस्याको समाधान गर्न आत्मनिर्भर बन्न आवश्यक रहेको बताइन् ।

मुक्त कमैया समाज बाँकेका अध्यक्ष जोखन थारुको अध्यक्षतामा भएको २४ औं मुक्ति दिवसका अवसरमा कोहलपुर नगरपालिका वडा नं. ११ को मुक्तकमैया वस्तीबाट निस्केको रयाली कोहलपुरको चौराहा, नेपालगन्ज रोड, पुरानो बसपार्क हुदै पुनः कोहलपुर ११ को लोकनगरमा पुगेर शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो ।

  • ३ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech