२७ भाद्र २०८१, बिहीबार

सन्तानेश्वरमा भक्तजनहरुको ओईरो, कसरी पुग्ने नरैनापुर हुदै सन्तानेश्वर !

धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रको पूर्वाधार विकासमा राज्यले ध्यान दिन जरुरी

  • न्युज मानसराेवर

नरैनापुर,बाँके: बाँकेको नरैनापुर ५ स्थित सन्तानेश्वर महादेव मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको छ। विशेष गरि साउन महिनामा शिव भगवानको पूजा अर्चना र दर्शन गर्न स्वदेशी तथा छिमेकी भारतबाट पनि भक्तजनहरू आउने गर्दछन् । यस्तै शिवरात्रिमा रुद्री पाठ हुने भएकाले भक्तजनको घुइँचो लाग्ने गर्दछ भने हरितालिका तिजमा पनि चहलपहल हुने गर्दछ। यहाँ सन्तान नभएकाले भाकल गरि स्वच्छ मनले पूजा अर्चना गरे सन्तान लाभ हुने धार्मिक विश्वास रहेको स्थानीय यमबहादुर खड्काको भनाई रहेको छ।

सन्तानेश्वरमा ॐ आकारको पहाडको चुचुरोको मुनि गङ्गा जमुना र सरस्वती प्रभावित भएको हुँदा विशेष महत्व रहेको मन्दिरका पुजारी योगानन्द गिरिको भनाई छ। धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको यस क्षेत्रमा मन्दिरमा पुग्ने सडक बिश्रामस्थल , खानेपानी र बिजुली बत्तीलगायत आवश्यक पूर्वाधारहरू नहुँदा भक्तजनहरूले समस्या भोग्ने गरेको स्थानीय बताउँछन् ।

नेपालगन्जदेखि २५ किलोमिटर पूर्व हुलाकी सडकको यात्रा पछि नरैनापुर गाउँपालिका ५ लालपुर आउँछ त्यहाँ बाट करिब छ किलोमिटर जङ्गलको कच्ची बाटोमा मोटरसाइकल यात्रा गर्नुपर्दछ।त्यसपछि करिब दुई किलोमिटर पैदल यात्रा गर्दै पहाड चढेपछि सन्तानेश्वर पुगिन्छ। चुरे पहाडको चुचुरोमा मन्दिर रहेकाले भगवानको दर्शनसँगै प्राकृतिक मनोरम दृश्यले यहाँ दर्शनका लागि आउने पर्यटकहरू आकर्षित हुने गरेका छन्।

खोलानाला ,जङ्गल र पहाड चढ्दै गरिने यात्राले शहरको कोलाहलबाट टाढा रही आनन्दित गर्दछ भने मन्दिर परिसरबाट राप्तिसोनारी र नरैनापुर गाउँपालिकाको अवलोकन समेत गर्न सकिन्छ। धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रको पूर्वाधार विकासमा राज्यले ध्यान दिन जरुरी छ।

सन्तानेश्वर मात्रै होइन बाँकेमा नेपालगन्जको बागेश्वरी मन्दिर, राप्तीसोनारीको भुवरभवानी मन्दिर र बर्फानीबाबा मन्दिर, राँझाको पशुपति मन्दिर, कम्दीको दुर्गा मन्दिर र कम्मरशाह बाबा, फुल्टेक्राको हडियाबाबा मन्दिर, सरस्वती मन्दिर, कृष्ण मन्दिर पनि प्रख्यात रहेका छन् । तर, धार्मिक पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारदेखि केन्द्र सरकारका कसैले पनि प्रभावकारी योजना ल्याएका छैनन् ।स्थानीय स्तरमा भएका यस्ता पर्यटकीय संरक्षण र संवर्द्धन गर्न आवश्यक छ।

  • २७ श्रावण २०८१, आईतवार प्रकाशित

  • Nabintech