रामपुर,पाल्पा: उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बन्नुभएको छ ।
पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उहाँले कुखुरापालन गर्नुभएको छ । उहाँको फार्ममा हाल एक हजार सात सय ५० बोइलर कुखुरा छन् । सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पाल्नुभएका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गर्नुभएको छ । उहाँको फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने सात सय ५० हुर्कदै गरेका चल्ला छन् । कुखुरा बिक्रीका लागि बजारको समस्या छैन । रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्यालले बताउनुभयो । उहाँले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिलाई हुर्काएर बिक्री गर्दै आउनुभएको छ ।
उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पाल्न थाल्नुभएको हो । यसबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उहाँले बताउनुभयो । व्यवसाय धान्न एक जनालाई रोजगार दिनुभएको छ । टिक्ने खालको संरचना बनाएर व्यवसाय गर्नुभएको छ ।
गाउँका तीन जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आउनुभएको छ । कुखुरापालनसँगै उहाँले माछापालन पनि गर्नुभएको छ । व्यवसाय ठूलो र नमूना खालको भएकाले पनि फार्म अवलोकन गर्न जाने गरेको पाइन्छ । फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो छ । अर्याललाई यो व्यवसायले दाम मात्र नभई समाजमा नाम पनि दिएको छ ।
व्यवसाय थाल्नेबित्तिकै धेरै आम्दानी गर्छु भनेर गर्ने होइन, कसरी लामोसमयसम्म टिकाउन सकिन्छ, धैर्यका साथ काम गरियो भने अवश्य पनि सफलता मिल्ने उहाँको अनुभव छ ।