बाँके:८० दिनदेखि काठमाडौं स्थित माइतीघर मण्डलामा धर्ना दिंदा पनि आफुहरूको माग सरकारले नसुनेको भन्दै अधिकारकर्मी रुबी खान सहितको समूहले अब मन्त्री निवासमै धर्ना दिने कार्यक्रम अघि बढाएका छन् ।
बाँकेकी निर्मला कुर्मीको हत्या प्रकरणमा न्याय नपाएको भन्दै आन्दोलन गरिरहेका बाँकेका अधिकारकर्मी महिलाहरूले अब मन्त्रीहरूको निवासमै प्रदर्शन गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
अधिकारकर्मी खानले सरकारले माइतीघर मण्डलामा गरेको धर्नाको बेवास्ता गरेकाले अब वर्तमान तथा भूपु मन्त्री, प्रधानमन्त्रीको निवासमै धर्ना दिने सहितको कार्यक्रम सार्वजनिक गरेकी छिन् ।
अधिकारकर्मी खान सहितको समूहले प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘सत्तारुढ दलको पार्टी कार्यालयमा र्याली तथा धर्ना लगायतका कार्यक्रम गरिनेछ ।’
अधिकारकर्मी खानले माइतीघरमा निरन्तर रिले अनशन पनि जारी रहने बताएकी छिन् । खानले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको १०० दिनको उपलब्धि सार्वजनिक हुँदा आफूहरूको ८० दिनको पीडाको सम्बोधन नभएको बताएकी छिन् । साथै सरकारले पटकपटक आफूहरूसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने गरेकोमा यो पटक भने सरकारले आफूहरूको आन्दोलनको कुनै सुनुवाइ नै नगरेको बताएकी छिन् ।