नेपालगञ्ज : नेपाली हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहार नजिकिएसँगै उपभोक्ताहरुको किनमेल सुरु भएको छ । तिहारको किनमेलमा नेपाली उपभोक्ताहरुको रोजाई नेपाल भन्दा सीमा पारीको बजार हुने गरेको छ । तिहारको निमेलका लागि सीमापारी भारतीय रुपईडीहा बजार ग्राहकले खचाखच भरिएको छ ।
औद्योगिक ब्यापार मेलामा नामचलेको कलाकार आउँदाको भीड भन्दा ठेलमठेल भीड तिहारको किनमेलका लागि रुपईडिहा बजारमा देखिएको छ । सरकारको गलत भन्सारदर, भन्सार प्रशासनको उदासिनता र नेपाली ब्यवसायीको बढी नाफा खाने प्रबृत्तिका कारण उपभोक्ताहरुले भारतीय बजार रोजेको रुपईडिहामा भेटिएका उपभोक्ताहरुले बताएका छन् ।
भन्सार तिरेरै लैजान्छु भन्दा पनि अचाक्ली महङ्गो भन्सारदर भएकाले रुपईडिहामा सामान खरिद गर्नु बाध्यता रहेको रुपईडिहामा भेटिएका एक सरकारी कर्मचारीले नाम नलेख्ने शर्तमा बताए । भन्सारदर महङ्गो भएकै कारण नेपालमा उपभोग्य सामानको मूल्य बढी पर्ने भएको र त्यसको फाइदा सिमापारीको बजारलाई पुगेको उनले बताए ।
सुर्खेतबाट तिहारको किनमेल गर्न रुपईडिहा पुगेकी सुन्दरी रोकायाले नेपालगञ्जमा भन्दा आधा मूल्यमा सस्तो हुने गरेकाले रुपईडीहामा सामान किन्न गएको बताइन् । उनले हरेक पटक नेपालगञ्ज आउँदा २०–२५ हजारको सामान रुपईडीहाबाट लैजाने गरेको बताइन् । आफुलाई नेपाली भन्सारमा अहिलेसम्म कुनै रोकतोक नगरेको बताउने उनले प्रहरीले भने कहिलेकाहीँ सोधपुछसम्म गर्नेगरेको बताइन् ।
भारतीय बजारमा किनमेल गर्न जाने चाहना नभएपनि नेपालगञ्जको बजारमा दैनिक उपभोग्य सामान अचाक्ली महङ्गो परेपछि बाध्य भएर भारतको रुपईडिहा बजार आउनुपरेको यातायात ब्यवसायी शोभाकर पौडेलले बताए ।
रामदूत स्टोर्स अगाडी आलु प्याज, चिनी लगायतको सामान मोटरसाईकलमा लोड गर्दै गरेका उनले भारतीय प्रहरीको अपमान, ब्यवसायीको रुखो ब्यवहार र ठेलमठेल सडक भएर पनि भारतीय बजारमा नेपालीहरु आउनु गलत भएको उनले बताए । भन्सारदर घटाएर नेपाली ब्यवसायीलाई भारतीय बजारको तुलनात्मक प्रतिस्पर्धा गर्न सक्ने नीति सरकारले बनाउनु पर्ने उनको भनाई छ ।
नेपालमा खाद्यान्न उत्पादनमा नेतृत्वदायी भूमिकामा रहेको केएल दुगड ग्रुपका निर्देशक प्रदीप छाजेडले बहुदरको मूल्यअभिबृद्धी कर (भ्याट) लागु गरेर अतिआवश्यक बस्तुहरुमा भ्याट कम गरेमात्र उपभोक्ताहरुलाई नेपालमा रोक्न सकिने बताउँछन् । भारतमा मैदा लगायतको वस्तुहरुमा भ्याट छुटदेखि ५ प्रतिशतसम्म मात्र भ्याट लाग्ने गरेपनि नेपालमा १३ प्रतिशत भ्याट असुलि गर्दा स्वतः मूल्य बढी हुने गरेको उनले बताए ।
आर्थिक बिज्ञ छाजेडले अर्थतन्त्र कमजोर भएको मुलुकमा आफ्नो परिवार पाल्नकै लागि पनि केही सस्तो मूल्य खोजेर भारतमा सामान किन्न जानु स्वाभाविक मान्नु पर्ने बताउँदै भन्सार र कर असुलेर अर्थतन्त्र चलाउने सरकारी नीति नफेरिएसम्म समस्या रहिरहने बताए । नेपाल सरकारले जनताबाट असुलिरहेको भ्याटदरकै आसपासमा भारतीय बजारमा बढी मूल्य रहेको जनाउँदै उनले भ्याटको दर कम गरिदिए नेपाली ब्यवसायीले भारतीय बजारको मूल्यमा बिक्री गर्न सक्ने उल्लेख गरे । सरकारको गलत नीतिका कारण नेपालगञ्ज नाकाबाट मात्र हरेक दिन सरदर २ देखि ३५ करोडसम्मको सामान बिना भन्सार नेपाल भित्रने गरेको नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीले बताए । चाडपर्वमा ३५ करोडको हाराहारीमा र अन्यबेला २० करोडको आसपासमा भन्सारको मूलबाटो हुँदै बिना भन्सार नेपाल भित्रने गरेको धामीको दाबी छ ।
उच्च भन्सार दर र कमजोर भन्सार प्रशासनका कारण सरकारले हरेक दिन ठुलो परिमाणमा राजश्व गुमाएको बताउँदै उनले भन्सार दर बैज्ञानिक बनाएर ब्यवसायीलाई भारतीय बजारसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन जरुरी रहेको बताए । ‘नेपाललाई जिएसटी छुट छँदैछ, भन्सार र भ्याट घटाए सजिलै नेपालको बजारमा भारतीय बजार बराबरको रेटमा मूल्य कायम हुन सक्दछ ।’ उनले भने ।