नेपालगञ्ज : करीब डेढ लाख रुपैयाँसहित नेपालगञ्जमा १४ जना जुवाडे पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका ४, सल्यानी बागबाट जुवातास खेलिरहेका १४ जना जुवाडेलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।
जुवातास खेलिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले आइतवार राती करिव साढे १ बजेको समयमा सल्यानीबागस्थित सुवाष तारामी मगरको घरमा छापा मार्दा एक लाख ५४ हजार ८२० रुपैयाँ र चार गड्डी तास बरामद गरेको एसपी कार्कीले जानकारी दिए ।
प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा गएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका ४ का ४० वर्षीय पृतम शाक्य, सोहि ठाउँका ४८ वर्षीय रामबहादुर पाण्डे, ३० वर्षीय सुरज श्रेष्ठ, सोही ठाउँका ४३ वर्षीय बिशालजङ्ग शाही र ४१ वर्षीय उमेश सिंह पक्राउ गरेको हो ।
त्यसैगरि, सल्यानीबागका ४२ वर्षीय अर्जुन सुनार, सोही ठाउँका ३० वर्षीय प्रेम सुनार, ४० वर्षीय बुद्धि रसाइली, ४० वर्षीय सुलभ सार्की, ३८ वर्षीय सुबाष तारामी मगर, ४१ वर्षीय रबिन थापा, ४६ वर्षीय लोकेन्द्र श्रेष्ठ, ४४ वर्षीय शरद श्रेष्ठ र सोही ठाउँका ४७ वर्षीय प्रकाश पोखरेललाई प्रहरीले पक्राउ गरेको एसपी कार्कीले जानकारी दिए ।
बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले निर्देशन दिएपछि जुवातास विरुद्ध प्रहरी आक्रामक रुपमा उत्रिएको छ । प्रहरीले यसअघि जयसपुर, राप्तीसोनारी, वसपार्क लगायतका क्षेत्रबाट लाखौं रुपैयाँसहित जुवाडेहरु पक्राउ गरिसकेको छ ।
जुवातास नियन्त्रणमा एसपीको ठाडो निर्देशन पाएका प्रहरी युनिटले तदारुकताका साथ अभियान थालेपछि जुवाडेहरु धमाधम पक्राउ परिरहेकाछन् । ‘जुवातास नियन्त्रणका लागि सादा पोशाकका प्रहरी परिचालन गरि सूचना लिने र छापा मार्ने काम जारी छ,’ एसपी कार्कीले भने ।