९ मंसिर २०८१, आईतवार

बुटवल–गोरुसिङ्गे सडक : रुख काट्ने अनुमति
  • न्युज मानसराेवर

बुटवल:  बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि सडक किनारमा रहेका करिब सात हजारभन्दा बढी रुख काट्न सडक विभागले स्वीकृति दिएको छ । सडक विभागले स्वीकृति दिएसँगै अब बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम सुरु हुने भएको छ । राजा महेन्द्रको पालामा विसं २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड विस्तारको काम सुरु हुने चरणमा छ ।

बुटवल–गोरुसिङ्गे  सडक आयोजना कार्यालय बुटवलकी प्रमुख इन्जिनियर कुशलता न्यौपानेले सडक विभागले बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडक विस्तारको क्रममा कटान गर्नुपर्ने करिब सात हजार रुखका लागि सडक विभागबाट स्वीकृति प्राप्त भएको बताउनुभयो । उहाँले सडक नापजाँच, सर्भे गर्ने, विद्युत् पोल सार्ने र सडक किनारका संरचना खाली गराउने काम भइरहेको र सबै प्रक्रिया पूरा भइसकेको बताउनुभयो । यसअघि आयोजनाले दसैँपछि लगत्तै सडक विस्तारको काम सुरु हुने जनाएको थियो । सडक संरचनाभित्र परेका घरधनीले भने आफैँ घर भत्काएर क्षतिपूर्तिसमेत लिइसकेका छन् ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो । आयोजना प्रमुख इन्जिनियर न्यौपानेका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५/२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो ।

पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको हो । आयोजनाका अनुसार सडक विस्तारकै क्रममा विद्युत्का पोल सार्ने प्रक्रिया सुरु भइसकेको छ भने अहिले सडकमै खटिएर नापजाँच र सर्भे गर्ने काम भइरहेको छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कल्भर्ट र छ वटा अन्डरपास ओभरपास निर्माण हुने छ । बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र जङ्गल क्षेत्रमा २४ मिटरचौडाइ कायम हुने छ ।

यस्तै ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने सम्झौता छ । बहुवर्षीय योजना अनुसार निर्माण हुने सडकखण्डको पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणका लागि ठेक्का सम्झौता हुने आयोजनाले जनाएको छ । त्यसपछि बुटवलको अहिलेको तिनाउ पुललाई विस्थापन गरी चितवनको जस्तै सिग्नेचर पुल निर्माण गरिने छ ।

उक्त सडकखण्ड किनारका स्थानीयले भने सडक निर्माणको काममा ढिलाइ नगर्न अनुरोध गर्दै कालोपत्रे गरिएको सडक नभत्काईकन किनारबाट विस्तारको काम सुरु गर्न आग्रह गरेका छन् ।

  • २० कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech