बैजनाथ,बाँके: बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ बनकटवामा यही कात्तिक २१ र २२ गते थारु लोक गित एंव पौराणिक नृत्य प्रतियोगिता २०८१ हुने भएको छ । थारु कला संस्कृतिको उत्थान, थारु भेषभुषा हाम्रो पहिचान भन्ने मुल नाराका साथ यही २१ र २२ गते दुई दिने थारु लोक गित तथा पौराणिक नृत्य प्रतियोगिता २०८१ हुने भएको हो ।
राष्ट्रिय थारु कलाकार मञ्च बाँकेको आयोजना तथा पर्यंटन डिभिजन कार्यालय कोहलपुर बाँकेको सहयोगमा उक्त कार्यक्रम हुने भएको मञ्चका अध्यक्ष विनोद थारु (रामु) ले जानकारी दिए ।
यस कार्यक्रमले थारु समुदायको संस्कतिको संरक्षण, संवर्द्धन गर्दै करिव १८ लाख थारूहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभान्वित हुने आयोजकको भनाई छ । मंगलवार पत्रकार सम्मेलन गरि आयोजकले गर्दै लोपोन्मुख अवस्थाका थारू समुदायका कला, संस्कृति र परम्पराहरूको विकास तथा जर्गेनाको लागि यस्तो खालको कार्यक्रम आवश्यक रहेको अध्यक्ष थारुले बताए ।
थारू समुदायको पहिचानको रूपमा रहेका ऐतिहासिक, धार्मीक र पुरातात्विक धरोहर र यसको महत्वका वारेमा जानकारी हुने लक्ष्यका साथ यस्तो खालको कार्यक्रम हरेक बर्ष गर्न आवश्यक रहेको मंचका उपाध्यक्ष श्रीदेवी थारुले जानकारी दिइन् ।
यस कार्यक्रमले लोपोन्मुख अवस्थामा रहेका कला, संस्कृति र परम्पराहरूको जगेर्ना हुने विश्वास गरिएको उपाध्यक्ष थारुले बताइन् । ग्रामीण बस्तीमा रहेका थारू सांस्कृतिक पौराणीक लोक गीत तथा नृत्य सम्बन्धी प्रतिभाहरूको खोज पहिचान गरी त्यस्ता खाले नाचलाई उचाईमा पुर्याउनका निम्ती हामी एक रुपता हुन अपरिहार्य रहेको मञ्चका सचिव देवदास थारुले बताए ।
थारू पौराणिक गीत संगीत तथा नृत्यहरूको प्रदर्शनीबाट आन्तरिक तथा बाह्य पर्यटनमा विस्तार भई उनीहरूको जीवनस्तर माथि उकास्न यस कार्यक्रमले मदत पुग्ने आयोजकले विश्वास लिएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीसमेत रहने आयोजकले जनाएको छ । थारु खानाका विभिन्न परिकारहरुको स्वादसमेत लिन सकिने कार्यक्रममा २५ बढी टिमको थारु पौराणिक कला झल्किने नाच हेर्न पाइने छ भने कार्यक्रममा प्रवेशका लागि निःशुल्क व्यवस्था मिलाइएको आयोजकले जानकारी गराएको छ ।