डुडुवा:डुडुवा गाउँपालिका अन्र्तगत राप्ती नदीमा शबदाह घाट निर्माण कार्य भइरहेको छ । डुडुवा गाउँपालिकाले वडा नम्बर ५ स्थित राप्ती नदीको पुल नजिकै शबदाह घाट निर्माण गर्न लागेको हो ।
जिल्लाका विभिन्न स्थानबाट शब जलाउन आउने मलामीहरुका लागि बस्ने हल, काठ दाउरा राख्ने स्टोर, खानेपानी धारा र शौचालय निर्माण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार राप्ती नदी सिधानिया घाट व्यवस्थापनका लागि पालिकाले भौतिक पूर्वाधार निर्माण शुरु गरेको छ ।
आगामी दिनमा यस घाटलाई थप व्यवस्थित बनाउनका लागि जग्गाको व्यवस्थापन, विद्युतीय शब दाह गृह निर्माण, क्रियापुत्री घर, स्नान घर, सर्बसाधारणलाई नुहाउनका लागि घाट लगायतका संरचना निर्माण गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताए ।
गाउँपालिकाको रु. ४२ लाखको सहयोगमा डुडुवा–५ स्थित राप्ती घाट व्यवस्थापन उपभोक्ता समितिमार्फत निर्माणको कार्य भइरहेको पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए । उनले नदीको छेउँमा पानी भरिएका कारणले शबदाह गृह निर्माण गर्न ढिलाई भएकोले अब केही दिनभित्र निर्माणको कार्य सम्पन्न हुने बताए । उनका अनुसार नदीको छेउँमा कंक्रिट वाल लगाई माटो पटान गरेर पक्की शव जलाउनका लागि शबदाह निर्माण गरिनेछ ।
शबदाह निमार्णका लागि स्थानीय उदयराज यादव, गंगाराम यादव, राजकिशोर यादव र तिलकराम यादवले १२ कठ्ठा ६ धुर जग्गा दान गरेको उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर बोहराले बताए ।