बाँके: बाँके राष्ट्रिय निकुञ्जमा सफारी खुला गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्जले यस वर्ष पनि जङ्गल सफारी खुला गरेको जनाएको छ । दशैं/तिहार सकिएपछि निकुञ्जभित्र रहेको वनपथ वरिपरिका झाडी सफा गरेर सफारी खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।
घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट टिकट काट्ने व्यवस्था मिलाइने कँडेलले बताउनुभयो । निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्न सक्नेछन् । निकुञ्जभित्र वन्यजन्तु अवलोकन गर्नका लागि ठाउँठाउँमा मचान, घाँसे मैदान, कृत्रिम पोखरी, वनपथ जस्ता पूर्वाधार निर्माण गरिएका छन् ।
वि।सं। २०६७ सालमा बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किलोमिटर क्षेत्र समेटेर नेपालको सबैभन्दा कान्छो निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो । निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेका छन् । निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानका रूपमा रहेको छ।