६ मंसिर २०८१, बिहीबार

लुम्बिनी प्रदेश सरकारले पर्यटकलाई ठाउँपिच्छे लगाइँदै आएको पटके चेकिङ हटाउने
  • न्युज मानसराेवर

बाँके:लुम्बिनी प्रदेश सरकारले १२ जिल्लाका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलमा घुम्न आउने बाह्य पर्यटकलाई ठाउँपिच्छे लगाइँदै आएको पटके चेकिङ हटाउने भएको छ । विशेष गरी सीमा नाकाबाट नेपाल भित्रिने भारतीय पर्यटकले धेरै ठाउँमा प्रहरीको चेकिङले सास्ती बनाएको गुनासोपछि लुम्बिनी प्रदेश सरकारले अनावश्यक चेकिङ हटाउने नीति लिइएको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बताए ।

गौतमबुद्ध जन्मस्थल लुम्बिनीसहित १२ जिल्लाका ३० भन्दा बढी महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार यहाँको पर्यटकीय क्षेत्रलाई मानिदै आएको छ । प्रदेश सरकारले पर्यटन प्रवर्धन नै प्रदेशको समृद्धिको पहिलो आधारका रूपमा उल्लेख गरेकाले पर्यटकलाई अनावश्यक सास्ती दिँदा पर्यटकको संख्या घट्ने भएकाले धेरै ठाउँको पटके चेकिङ हटाउने तयारी भइरहेको मन्त्री न्यौपानेले बताए ।

‘लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार भनेकै यहाँको पर्यटन क्षेत्र हो,’ उनले भने, ‘तर, पर्यटकलाई अनावश्यक सास्तीका कारण पर्यटन क्षेत्र फस्टाउन सक्दैन ।’ भारतीय नाकाबाट नेपाल भित्रिएका पर्यटकलाई एक÷दुई ठाउँमा मात्रै चेकिङ गरे पुग्ने उनले बताए । भारतीय नाकाबाट नेपाल भित्रिने पर्यटकलाई स्टिकरको व्यवस्थापन गर्ने गरी पटके चेकजाँचको अन्त्य गर्ने तयारी पर्यटन मन्त्रालयले गरेको छ ।

नाकाबाट नेपालभित्र प्रवेश गरेपछि पर्यटकको स्टिकर दिइने र त्यही स्टिकरका आधारमा अन्यत्र ठाउँमा पटके चेकजाँच नहुने गरी व्यवस्था मिलाउन लागिएको लुम्बिनी पर्यटन मन्त्रालयले जनाएको छ । स्टिकरको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रमुखसँग समन्वय र छलफल भैरहेको मन्त्री न्यौपानेले बताए ।

मन्त्रालय अन्तर्गत प्रदेश पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशीले विदेशी पर्यटकलाई सहज घुमफिर सीमा नाका क्षेत्रका प्रहरीले स्टिकर टाँसको व्यवस्थापन गर्ने गरी छलफल गरिने भएको बताए । जति धेरै पर्यटक भित्रिन्छन्, त्यति धेरै तरकारी, खसीबोका उत्पादन गर्ने कृषकदेखि पर्यटन व्यवसायी समेत आर्थिक रुपमा समृद्ध बन्ने उनले बताए ।

  • २९ कार्तिक २०८१, बिहीबार प्रकाशित

  • Nabintech