नेपालगञ्ज : बाँकेस्थित जयेन्दु बाल सुधार गृहमा रहेका कानूनी विवादमा रहेका बालकहरूका लागि निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न भएको छ ।
एडभोकेसी फोरम नेपालले जिल्ला बाल न्याय समिति, बाँके जिल्ला अदालत र भेरी अस्पतालसँगको सहकार्यमा जयेन्दु बाल सुधार गृहमा निःशुल्क स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको हो ।
शिविरबाट २ सय ७० जनाले स्वास्थ्य सेवा पाएको आयोजक संस्था एडभोकेसी फोरम नेपालका संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
स्वास्थ्य शिविरमा भेरी अस्पतालका यौन तथा छाला रोग विशेषज्ञ डाक्टर अस्मिता गौतम र अस्पतालको टोलीले उपचार गरेको हो । स्वास्थ्य जाँचका क्रममा बालकहरूमा लुतो, इक्जीमा, धमौरा, फङ्गल इन्फेक्शन, किराको एलर्जी, डण्डीफोर, छालामा ब्याक्टेरियल इन्फेक्शनको समस्या देखिएको उपचारमा संलग्न डाक्टर अस्मिता गौतमले बताइन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शिविरबाट छाला रोगबाट पीडित बालबन्दी लाभान्वित हुने भन्दै बालकहरू असल नागरिक बन्न सकेमा समाजमा पुनर्स्थापना हुनु सहज हुने बताए ।
बाल सुधार गृहका इन्चार्ज बिमला काउचा मगरले सुधार गृहका बालकहरूलाई आफूले छोराको रूपमा हेरेको भन्दै बालकहरूले पनि असल आचरण राख्नु पर्नेमा जोड दिएकी थिइन् ।