भुरिगाउँ: गत निर्वाचनमा नेपाली कांग्रेसले फराकिलो मतान्तर जितेको बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा अहिले विरासत जोगाउन चुनौती थपिएको छ । यहाँ कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी भए पनि नाउपा र माओवादीसहित चार दलको उस्तै प्रभाव रहेको स्थानीयले बताएका छन् ।
मंसिर १६ गते हुने यो वडाको अध्यक्ष पदको निर्वाचनका लागि ६ वटा दलको तर्फबाट उम्मेदवारी दिएर मैदानमा गएपनि चार दलबीच नै प्रतिस्पर्धा रहेको स्थानीयको आंकलन रहेको छ ।
अहिले सबै दलको जिल्ला नेतृत्वले यहाँको निर्वाचन माहौल आफ्नो पक्षमा पार्न सबै शक्ति प्रयोग गर्न थालेका छन् । उम्मेवारहरु घरदैलोसहितका प्रचार प्रचारमा व्यस्त रहेका छन् भने सबै दलबाट यहाँको निर्वाचन प्रचार प्रसार गर्नका लागि व्यापक रूपमा लागेका छन् ।
०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि यहाँको अध्यक्ष पद खाली रहेको थियो । त्यो बेला वडाअध्यक्षमा विष्टले १ हजार २०९ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका नारायण अधिकारीले ५८० मत मात्रै पाएका थिए ।
यहाँ अहिले नेपाली कांग्रेसले अमिन थारुलाई उम्मेदवार बनाएको छ भने एमालेले विष्णु देवकोटा, नेकपा माओवादी केन्द्रले शेरबहादुर थारु, नागरिक उन्मुक्ति पार्टीबाट प्रीतिलाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वासुदेव शर्मा, राप्रपाबाट रत्नबहादुर शाहीलाई मैदानमा उतारिएको छ । वडाअध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएर मैदानमा गएका छन् ।
सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंका अनुसार स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंसिर १६ गते हुने मतदानमा यो वडामा ३ हजार ५ सय १० मतदाता रहेका छन् । तीमध्ये महिला १ हजार ८ सय ३९ र पुरुष १ हजार ६ सय ७१ जना रहेका छन् । २ मतदान केन्द्र र ५ मतदानस्थल रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सोही गाउँपालिकामा बस्दै आएका एमाले आबद्ध महेन्द्र गिरीका अनुसार पहिलेजस्तो पुराना पार्टीहरूको अवस्था अबको निर्वाचनमा भन्न नसकिने अवस्था छ ।
‘अब हिजोका दिनमा मेरो पार्टीको यति मत थियो भनेर टाउका गन्ने अवस्था छैन अहिले धेरैको मनस्थिति फेरिएको छ, मान्छे निराश छन्, म पनि हिजो एमालेको झण्डा बोकेर हिँडेको हुँ, तर मैले भनेको मेरै परिवारले मान्छन् भन्ने छैन, अब यसै अवस्थाले यो पार्टीले जित्छ भनेर आंकलन गर्न सकिँदैन, विगतको अवस्था हेरेर’ उनले भने ।
अहिले उम्मेदवार बनेका कांग्रेस, एमाले, माओवादी, नागरिक उन्मुक्ति सबैका स्थानीय बलिया उम्मेदवार रहेको र सबैबीच उत्तिकै प्रतिस्पर्धा रहेको स्थानीय धेरै मतदाताको आंकलन छ ।
‘धेरै थारु समुदायको वस्ती भएकाले यहाँबाट उन्मुक्तिको ढकियामा पनि राम्रै मत जाने अवस्था छ, राप्रपाको पनि यहाँ रहेको ठकुरी समुदायको बस्तीका पाका मतदाता छन्, माओवादीबाट पनि उम्मेदवार बनेका शेरबहादुर थारु यसअघिका पनि उम्मेदवार हुन्, एमालेबाट उम्मेदवार बनेका देवकोटा पनि गत निर्वाचनमा उठेका अनुभवी र बलिया उम्मेदवार हुन्, कांग्रेसबाट उम्मेदवार बनेका थारु अहिलेका कार्यवाहक अध्यक्ष नै हुन्, रास्वपाको पनि नयाँ मत कति आउने केही टुंगो छैन’ सोही वडामा गत निर्वाचनमा सदस्य जितेकी पूजा परियारले नेपाल प्रेससँग भनिन् ।
त्यसो त यो वडामा गत निर्वाचनमा ५ जनाको सेट नै नेपाली कांग्रेसबाट जितेका थिए भने ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालको पनि यही वडामै घर रहेको छ त्यस कारण पनि यहाँ कांग्रेसले बलियो क्षेत्र मानेको र प्रतिष्ठाको विषय बनाएको छ ।
सोही पालिकामा बस्ने पत्रकार भावुक योगीका अनुसार अहिले उम्मेदवार दिएकामध्ये कांग्रेस र एमालेकै बढी प्रतिस्पर्धा देखिए पनि उम्मेदवार सबैका बलियो र स्थानीय भएकाले अहिले नै मतको आंकलन गर्न नसकिने जनाए ।
‘हामीले हेरिरहेका छौँ तर मतदाताको अवस्था गत निर्वाचनमाजस्तो देखिएको ठ्याक्कै यही हुन्छ भन्ने भन्न सकिने अवस्था छैन, अहिले अवस्था फेरिएको धेरै मतदाताको मुखबाट सुनिएकाले विगतमा जस्तो नतिजाका बारेमा आंकलन गर्न सकिने अवस्था छैन’ उनले भने ।
उम्मेदवार बनेका सबै दलका नेताहरूले यतिबेला घरघरमा पुगेर मत मागिरहेका छन् भने उनीहरूलाई अघि सार्ने दलले मोर्चा बाँधेर प्रचारमा लागेका छन् । गत निर्वाचनमा धेरै ठाउँमा कांग्रेस/माओवादीसहित ५ दलको गठबन्धन रहेकाले पनि माहौल फरक रहेको र त्यतिबेलाका उम्मेदवार पनि तुलनात्मक हिसाबले कमजोर भएकाले कम मत आएको तर अहिले एमालेले जित्ने दाबी एमालेको छ ।
एमाले जिल्ला अध्यक्ष शालिकराम अधिकारी पहिले कांग्रेसले जितेको क्षेत्र भए पनि अहिले अवस्था फेरिएकोले आफूले जित्ने आधार बढेको बताउँछन् । ‘यहाँको मतदाताको एकै अवस्था कहिले छैन, पहिले एमालेले जितेको क्षेत्र हो, पछि माओवादीले जित्यो, त्यसपछि कांग्रेसले जितेको हो, अहिले हामी धेरै बलियो बनेका छौ,माओवादी आफ्नो मत सुरक्षित बनाए हामीले सहजै जित निकाल्ने छौँ’, उनले भने ।
बर्दियाका पत्रकार दिलप्रकाश गौतमले यहाँको मुख्य प्रतिस्पर्धा कांग्रेस एमाले नै रहेको तर थारू बाहुल्य क्षेत्र भएकाले नाउपाको मत कति कताबाट काटिन्छ भन्ने विषयले मूल्यांकनमा समस्या भएको बताए ।