बाँके\दुई पाङ्ग्रे सवारी साधनको प्रयोग बढिरहँदा सवारी दुर्घटना पनि त्यही अनुपातमा बढेको छ ।
सानो र छरितो मानिने मोटरसाइकल/स्कुटर दुर्घटनाको तथ्यांक केलाउँदा यस्ता सवारी ‘युवाको काल’ बनिरहेका देखिन्छन् । प्रत्येक दिन सडकमा ‘टु ह्वीलर्स’ दुर्घटना हुने गरेकाछन् । लुम्बिनीमा हरेक वर्ष झण्डै ८०० दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने प्रहरीको तथ्यांक छ ।
अटेरी र नियम नमान्ने प्रवृत्ति तथा अनियन्त्रित गतिका कारण दुर्घटना बढेको देखिन्छ । सँगै सडकको दुरावस्था, स्पष्ट ट्राफिक संकेतको अभाव र ट्राफिक सचेतनाप्रति लापरबाहीले गर्दा सडक दुर्घटना बढेका हुन् ।
यातायात व्यवस्था कार्यालयको तथ्यांकअनुसार नेपालमा करिब ५० लाखभन्दा बढी मोटरसाइकल दर्ता भएर सञ्चालनमा छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख श्याम खत्रीले लुम्बिनी प्रदेशमा दुई पाङ्ग्रे सवारीको प्रयोग र दुर्घटना दुवै बढिरहेको बताए ।यिनै दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना कम हुन सकेको छैन ।
३२ महिनामा २६०६ दुर्घटना, ६९९ जनाको मृत्यु, २७२५ घाइते
लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो दुई आर्थिक र चालू आवको पछिल्लो ६ महिनाको अवधिमा २६०६ मोटरसाइकल दुर्घटना भएका छन् । ती दुर्घटनामा ६९९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ हजार ७२५ जना घाइते भएका छन् । यो अवधिमा सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन् । रुपन्देहीमा मात्रै यो अवधिमा ६९० दुर्घटना भएका छन् भने ती दुर्घटनाबाट १९९ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी मधुसूदन न्यौपानेका अनुसार रुपन्देहीमा वि.सं. २०७९/२०८० मा मात्रै १९९ दुर्घटना भएर ७५ जनाको मृत्यु भएको छ । २०० जना घाइते भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २२४ दुर्घटना, ७६ जनाको मृत्यु तथा २३९ जना घाइते भएका छन् ।यो आवको माघ मसान्तसम्म मात्रै २६७ दुर्घटना भएका छन् । यो अवधिमा ४८ जनाको मृत्यु र ३०० जना घाइते भएको प्रहरीको तथ्यांक छ । यही अवधिमा दाङमा १५७ दुर्घटना हुँदा ३५ जनाको मृत्यु र १७४ घाइते भए । यस्तै, बाँकेमा १६२ दुर्घटनामा ३१ जनाको मृत्यु र १८० जना घाइते भए ।
पश्चिम नवलपरासीमा १३१ दुर्घटनामा २९ जनाको मृत्यु र १३९ जना घाइते भए । कपिलवस्तुमा १४० दुर्घटनामा २३ जनाको मृत्यु र १४४ जना घाइते भएको प्रहरीको तथ्यांक छ । बर्दियामा १३४ दुर्घटनामा १४ जनाको मृत्यु र १३१ जना घाइते भए । पाल्पामा ५, प्यूठानमा ४, गुल्मीमा २, रोल्पामा २ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।
यसअघि आव २०७९/८० मा रुपन्देहीपछि बाँकेमा धेरै मोटरसाइकल दुर्घटना भएको छ । ९७ दुर्घटनामा ३६ जनाको मृत्यु र ८४ जना घाइते भएका छन् । यसैगरी, कपिलवस्तुमा ७७ दुर्घटनामा ३५ जनाको मृत्यु, ७३ जना घाइते भए । दाङमा ११६ दुर्घटनामा ३२ जनाको मृत्यु र १४२ जना घाइते भएका छन् । पश्चिम नवलपरासीमा ५४ दुर्घटनामा २२ जनाको मृत्यु र ५३ जना घाइते भएका छन् । यस्तै, बर्दियामा ५४ दुर्घटनामा १८ जनाको मृत्यु, ८४ जना घाइते भए । पाल्पामा २४ दुर्घटनामा ११ जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।
रोल्पामा ८ दुर्घटनामा ५ जनाको मृत्यु र ३ जना घाइते भएको प्रहरीको तथ्यांक छ । सोही आर्थिक वर्षमा प्यूठानमा १५ दुर्घटनामा ४ जनाको मृत्यु, अर्घाखाँचीमा ११ दुर्घटनामा ३ जनाको मृत्यु र गुल्मीमा १ जनाको मृत्यु भएको छ ।
अघिल्लो आव ०८०/८१ मा रुपन्देहीपछि दाङमा १७२ दुर्घटनामा ५८ जनाको मृत्यु र १५८ घाइते भए । कपिलवस्तुमा १४६ दुर्घटनामा ३८ जनाको मृत्यु र १४४ जना घाइते भए । बाँकेमा १२० दुर्घटनामा ३१ जनाको मृत्यु र ११९ जना घाइते भएको प्रहरीको तथ्यांकमा छ ।
यसैगरी, पश्चिम नवलपरासीमा ७९ दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । ८४ जना घाइते भएका छन् । बर्दियामा ६० दुर्घटनामा १५ जनाको मृत्यु र ६८ जना घाइते भएका छन् । पाल्पामा ८, प्यूठानमा ५, अर्घाखाँचीमा ४, गुल्मीमा ३, रोल्पामा २ र रुकुमपूर्वमा १ जनाको मृत्यु भएको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको तथ्यांकले देखाउँछ ।
धेरैजसो दुर्घटनामा चालक र पछाडि बस्ने यात्रुले हेलमेट नलगाउने वा गुणस्तरहीन हेलमेट प्रयोग गर्ने गरेका छन् । यसले टाउकोमा गम्भीर चोट लाग्ने सम्भावना बढाउँछ । डीएसपी न्यौपानेले उद्धारमा जाँदा र दुर्घटनाको प्रकृति हेर्दा अधिकांश किशोर उमेर समूहका र तीव्र गतिका कारण क्षति हुने गरी दुर्घटना भइरहेको पाइएको बताए ।
लुम्बिनी प्रदेशमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–सालझण्डी खण्डमा धेरै दुर्घटना हुने गरेको देखिन्छ । यही खण्डमा सार्वजनिक यातायातका साधनको चाप ज्यादा छ भने तिनै साधनले नियम नमान्ने प्रवृत्ति पनि धेरै छ ।
गुडिरहेका गाडी एक्कासि बीचमै रोकेर यात्रु चढाउने र ओराल्ने गर्छन् । त्यसको पछिपछि गुडेका गाडी कि त त्यसैमा ठोक्किन पुग्छन् कि ‘ओभरटेक’ गर्दा उताबाट आएका र पछिपछि गएका कुनै साधनसँग जुध्न पुग्छन् । अधिवक्ता तथा लेखक विमल पोखरेलले अब ठूला शहरमा दुई पाङ्ग्रे मोटरसाइकल सञ्चालनमा राज्यले प्रतिबन्ध लगाउन ढिलाइ गर्न नहुने बताए ।
‘सार्वजनिक यातायातलाई प्रभावकारी, सुरक्षित र भरपर्दो बनाउन सकेमा मोटरसाइकलको अत्यधिक प्रयोग कम गर्न सकिन्छ,’ पोखरेल भन्छन्, ‘मोटरसाइकल युवाको काल बनिरहेका छन्, काठमाठौंसहित ठूला शहरमा सार्वजनिक यातायातलाई भरपर्दो बनाएर मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउनुपर्ने देख्छु ।’
अर्कातर्फ हाम्रा सडकहरू चौतर्फी अतिक्रमणमा छन् । सडक पूर्वाधारको सुधारमा बल्लतल्ल चासो गएपनि काम प्रभावकारी हुन सकिरहेको छैन । एउटा राजमार्ग बनेको ६२ वर्षपछि मात्रै विस्तार गर्न शुरू भएको छ भने ग्रामीण सडकको त बेहाल नै छ । साथै, भएका सडकमा पनि सडक संकेत, जेब्रा क्रसिङ, ट्राफिक लाइटको प्रभावकारी व्यवस्थापन हुन सकिरहेको छैन ।
७० प्रतिशत मोटरसाइकल दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको तथ्यांक छ । विभिन्न आयोग तथा समितिले दुर्घटना न्यूनीकरणका लागि दिने सुझाव कार्यान्वयनमा सरकार उदासीन रहने गरेको छ ।