२२ बैशाख २०८२, सोमबार

दिगो निर्यातमा लाग्न आवश्यक
  • न्युज मानसराेवर

चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ८ महीनामा मुलुकको वैदेशिक व्यापारमा सुधार देखिएको छ । त्यसमा पनि निर्यात व्यापारमा ५७ दशमलव २० प्रतिशत वृद्धि भएको छ । तथ्यांकलाई मात्र हेर्ने हो भने यो निकै ठूलो उपलब्धि मान्नुपर्ने हुन्छ । तर, यो नेपालको निर्यात क्षमता बढेर भएको होइन । भारतले लिएको भन्सार दरको नीतिले गर्दा नेपाली व्यवसायीले लिएको क्षणिक लाभ हो । यस्तो क्षणिक निर्यात वृद्धिले व्यवसायीलाई फाइदा त होला तर समग्र अर्थतन्त्र र मुलुकको विश्वसनीयतामा भने नकारात्मक असर पर्न सक्छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि फागुन मसान्तसम्मा १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । यस अवधिमा आयात ११ दशमलव २० प्रतिशत र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । फागुन मसान्तसम्म ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । कुल व्यापारघाटा ६ दशमलव २२ प्रतिशतले बढेको छ । यो अवधिमा नेपालको कुल वैदेशिक व्यापारमा ८ दशमलव ९० प्रतिशत हिस्सा निर्यातको रहेको छ भने ९१ दशमलव १० प्रतिशत अंश आयातको रहेको छ । त्यसैले ठूलो परिमाणमा निर्यात वृद्धि भए पनि व्यापार घाटामा ठूलो अन्तर रहेको देखिँदैन ।

भन्सार विभागको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी निर्यात भएको वस्तुमा पहिलोमा प्रशोधित भटमासको तेल रहेको छ र दोस्रोमा सूर्यमुखीको तेल रहेको छ । यी दुई वस्तुको आयातमा भएको उच्च वृद्धिले नै निर्यातमा ठूलो सुधार आएको देखिन्छ । तर, यी दुवै वस्तुको कच्चा पदार्थ नेपालमा उत्पादन हुँदैन । तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गर्ने गरिन्छ ।

यस्तो निर्यात भारतले तेस्रो मुलुकबाट आयात गर्दा लगाएको उच्च भन्सार दरका कारण बढेको हो । नेपाल भारत व्यापार सन्धिअनुसार नेपालले अन्य देशको कच्चा पदार्थ ल्याएर ३० प्रतिशत मूल्य अभिवृद्धि गरेमा शून्य भन्सार दरमा भारतमा निर्यात गर्न सकिन्छ । यही सुविधाको उपयोग गरेर नेपाली व्यवसायीले मौकाको फाइदा उठाइरहेका छन् । तर, ३० प्रतिशत नै मूल्य अभिवृद्धि भएकोमा भने आशंका छ ।

व्यापारमा मौकाको फाइदा उठाउनुलाई अन्यथा भन्न त मिल्दैन तर यस्तो निर्यात कुनै पनि बेला अवरुद्ध हुन सक्छ । विगतमा वनस्पति घिउको निर्यात पनि भन्सार दरकै फाइदा उठाएर बढेको थियो । तर, सन्धि पुनरवलोकन गर्दा भारतले परिमाणात्मक बन्देज लगाएपछि वनस्पति घिउको निर्यात सुकेको थियो ।

हुन त विश्वका धेरै देशले अन्य देशबाट कच्चा सामान ल्याएर नयाँ वस्तु उत्पादन गरी निर्यात गर्छन् । उदाहरणका लागि उत्कृष्ट चकलेट उत्पादक स्वीट्रजरल्यान्डले यसको कच्चा पदार्थ बाहिरबाट ल्याउँछ । औद्योगिक कच्चा पदार्थ ल्याएर उत्पादन वा प्रशोधन गरेर निर्यात गर्नु नै गलत हो भन्ने चाहिँ होइन तर त्यो दिगो हुनुपर्छ । नेपालले नै भारतबाट पेट्रोलियम पदार्थ आयात गर्छ जुन भारतले अन्य देशबाट कच्चा पेट्रोलियम ल्याएर प्रशोधन गरी विक्री गर्छ । त्यसैले नेपालले पनि यस्तै खालको प्रशोधन गरेर निर्यात गर्न सक्नुपर्छ । भटमास र सूर्यमुखी तेल पनि भारतले भन्सार नीतिमा परिवर्तन गर्दासमेत निर्यात गर्न सक्ने हो भने उपयुक्त हुन सक्छ ।

नेपालले दिगो निर्यातको नीति लिनुपर्छ । व्यापारघाटा उच्च भएकाले कुनै पनि वस्तुको निर्यात बढ्दा खुसी हुन त सकिन्छ तर त्यसले मुलुकको निर्यात क्षमता बढाउँदैन । उत्पादित वस्तुको समग्र प्रतिस्पर्धात्मक क्षमता बढेको कारण निर्यात भएको मानिँदैन । अत: अन्य देशबाट कच्चा पदार्थ ल्याए पनि तिनमा यसरी मूल्यअभिवृद्ध गर्नेतिर लाग्नुपर्छ जसले गर्दा त्यस्तो वस्तुको निर्यात नियमित भइरहन सकोस् । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन लागेको र त्यसपछि अल्पविकसित मुलुकले पाउने शून्य भन्सारको सुविधालगायत अन्य विभिन्न सुविधाबाट वञ्चित हुनुपर्ने भएकाले पनि प्रतिस्पर्धात्मक क्षमता बढाई निर्यात बढाउनु अनिवार्य छ ।

  • १० चैत्र २०८१, सोमबार प्रकाशित

  • Nabintech