बाँके\बाँकेको डुडुवा गाउँपालिका-३, बेतहानीका विशाल र शिवकुमार गोडिया सधैंझैं आइतबार दिउँसो स्कूलबाट घर फर्किँदैथिए । १० वर्षका विशाल र ९ वर्षका शिवकुमार एउटै साइकलमा स्कूल आउजाउ गर्थे ।
तर, आइतबार साइकलको पाइडलमा घुमिरहेका उनीहरूका पाइला घर पुग्न पाएनन् । स्कूलबाट निस्केको केहीबेरमै उनीहरूको साइकललाई पानी बोक्ने ट्यांकरले वडा प्रहरी कार्यालय रहेको चोकनेरै ठक्कर दियो । साइकल लड्खडाएर पल्टियो । विशाल र शिवकुमार सडकमा घिस्रिए । जोडले चिच्याए । उनीहरूको क्रन्दनले भे १ ख ४१०७ नम्बरको ट्यांकरका चालक कर्णबहादुर बुढाको हृदय पग्लिएन ।
बरु, ट्यांकर ‘ब्याक’ गरेर उनीहरूको शरीरमाथि टायर नचाए । प्रत्यक्षदर्शी दौडेर पुग्दानपुग्दै ट्यांकर चालक भागिहाले । वरपरका स्थानीय पुगेर दुई बालकलाई हेर्दा उनीहरूको मृत्यु भइसकेको थियो । एकछिन सबैजना स्तब्ध भए । अनि, आक्रोशको ज्वाला दन्कियो ।
मदिरा सेवन गरेका चालकले निर्दोष बालकको ‘हत्या’ गरेको भन्दै स्थानीय आन्दोलित भए । उनीहरूले ट्यांकर चालकलाई कारबाही माग गर्दै प्रहरी कार्यालयमा ढुंगामुढा गरे । ट्यांकरमा आगजनी गरे । स्थिति तनावपूर्ण बन्यो ।
परिवारको भविष्यका कर्णधार दुई नाबालक सन्तानको मृत्यु भएपछि गोडिया परिवार विक्षिप्त छ । बेतहानी गाउँ शोकमा डुबेको छ ।
सहोदर दाजुभाइ दुवै नौरीगढ एकेडेमीमा एलकेजीमा पढ्थे । पढाइमा अब्बल नै थिए । भविष्य राम्रो होस् भनेर आर्थिक अवस्था कमजोर रहेको परिवारले दु:खजिलो गरेरै भए पनि छोराहरूलाई निजी स्कूल पढाइरहेका थिए ।विद्यालयका प्रिन्सिपल प्रकाश केसीले पढाइमा अब्बल दुई विद्यार्थी गुमाउँदा विद्यालय परिवार पनि विक्षिप्त रहेको सुनाए । ‘यही चैत १७ गतेदेखि विद्यालयमा वार्षिक परीक्षा हुँदै थियो ।
उनीहरू परीक्षाको तयारीमा थिए’, प्रिन्सिपल केसीले लोकान्तरसँग भने, ‘विशाल र शिव हिजो सवा तीन बजे स्कूलबाट निस्केर साइकलमा घर जाँदै थिए । केही मिनेटमै वीभत्स दुर्घटना भयो । हामीले जेहनदार दुई विद्यार्थी गुमायौं ।’
दुर्घटनामा विशाल र शिवको मृत्यु भएपछि सोमबार पालिकाका सबै बोर्डिङ स्कूलले ‘शोक बिदा’ दिए । तीन छोराहरूमध्ये जेठा र माइलाको दुर्घटनामा मृत्यु भयो । कान्छो छोराको स्वास्थ्यमा समस्या रहेको स्थानीय बताउँछन् । उनीहरूका अभिभावक अहिले बोल्न नसक्ने अवस्थामा छन् । डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले विपन्न परिवारमा ठूलो बज्रपात परेको बताइन् । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले टयांकर चालक डडुवा गाउँपालिका-२ का बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
‘घटना भएपछि प्रहरी कार्यालय ढुंगामुढाको अवस्था समेत आयो । स्थानीयले मादक पदार्थ सेवन गरी गाडी चलाएको भन्ने सुनिएको थियो । चालकलाई नियन्त्रणमा लिइसकेका छौं । अनुसन्धानको पाटो अब अघि बढ्छ’, एसपी कार्कीले लोकान्तरसँग भने ।
पीडित परिवारसँग सहमति भएर सबै प्रक्रिया अघि बढेको एसपी कार्कीको भनाइ छ ।