११ जेष्ठ २०८२, शनिबार

लुम्बिनी प्रदेश सरकारको आगामी आवकाे नीति तथा कार्यक्रम बहुमतले पारित
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । ध्वनिमतको आधारमा सभामुख घर्तीमगरले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

विगत दुई दिनदेखि प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी थियो । प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्ने गरी कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

छैठौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो । जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सांसदहरूले प्रदेशको विकासका लागि उत्कृष्ट भन्दै बजेटमार्फत सम्बोधन गर्न सुझाव दिएका थिए ।

मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन । शनिबार बसेको छैटौं अधिवेशनको आठौं बैठकलाई सम्बोधन गर्दै उनले कार्यान्वयनको लागि प्रभावकारी अनुगमन व्यवस्था मिलाइने जानकारी पनि दिए ।

मुख्यमन्त्री आचार्यले भने, ‘नीति तथा कार्यक्रम सरकारको दिशा निर्देशन गर्ने कार्यक्रम हो । आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत रूपमा सम्बोधनको विनियोजन विधेयक ल्याइनेछ ।’

उनले यस पटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयन योग्य रहेको र विगतका योजनाहरूको विश्लेषण, साधनस्रोतको सीमा, अन्तरसम्बन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको जानकारी दिए ।सरकारले वस्तुनिष्ठ र कार्यान्वयन योग्य बजेट बनाउने तयारी गरिरहेको पनि मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । दुई दिनसम्म चलेको छलफलमा ४० जना प्रदेशसभा सदस्यले सुझावसहित धारणा व्यक्त गरेका थिए ।

 

  • ११ जेष्ठ २०८२, शनिबार प्रकाशित

  • Nabintech