बाँके\जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव लुम्बिनी प्रदेशका तीन वटा जिल्लाको अधिवेशन गराउन नेपालगञ्ज पुगेका छन् । बाँकेलाई पश्चिम नेपालमा जसपा नेपालको बलियो किल्ला रहेको जिल्लाका रूपमा मानिन्छ ।
यादव बाँकेसहितका जिल्लाको अधिवेशन गराउन बुधबार बिहान नेपालगञ्ज पुगेका उनको सचिवालयले जनाएको छ । अधिवेशन समारोहको प्रमुख वक्ता रहेका अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सदस्य सीपी सिंह लगायतका नेताहरू नेपालगञ्ज गएका हुन् ।
बुधबार बाँके जिल्लाको एकताको प्रथम जिल्ला अधिवेशन हुँदैछ ।अधिवेशनले जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेदेखि संगठनको आगामी योजना एवं कार्यदिशा तय गर्नेछ ।यसैगरी, जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको प्रथम जिल्ला अधिवेशन भोलि बिहीबार गुलरियामा हुँदैछ । बिहीबार जसपा नेपाल कपिलवस्तुको जिल्ला अधिवेशन हुने कार्यतालिका छ। यी तीनवटै जिल्लाको अधिवेशनमा अध्यक्ष यादवसहितको केन्द्रीय नेतृत्व सहभागी हुनेछ । जसपा नेपाल अहिले देशव्यापी रूपमा जिल्ला अधिवेशन गर्ने अभियानमा छ ।