बाँके\बाँकेमा सामुदायिक र राष्ट्रिय वनबाट वार्षिक तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ ।
डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार सामुदायिक वनबाट वार्षिक अढाई लाख क्युफिट र राष्ट्रिय वनबाट ९० हजार क्युफिट गरेर तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ ।
उनले सामुदायिक वनको उत्पादन पहिले उपभोक्ता समूहभित्र आन्तरिक खपतमा प्रयोग गरिने र बाँकी लिलामीमार्फत बिक्री गरिने गरिएको बताए । “साल, सागुन, सिंदुरे, खयर, दब्दबेजस्ता मूल्यवान काठहरू उत्पादन भइरहेका छन्” सिनियर डिभिजनल वन अधिकृत गुप्ताले भने, “खयर कत्था फ्याक्ट्रीमा प्रशोधन गरेर देश बाहिर पठाइन्छ भने साल र सगुनको काठ फर्निचर, घरको झ्याल–ढोका निर्माणमा प्रयोग हुन्छ ।”
बाँकेको सबैभन्दा बढी वन क्षेत्र राप्ती सोनारी गाउँपालिकामा छ, जहाँ ७९.८ प्रतिशत भूभाग वनले ढाकेको छ । अर्कोतर्फ जानकी गाउँपालिकामा एक प्रतिशत वन क्षेत्र पनि छैन भने खजुरा र नेपालगन्ज उपमहानगरपालिकामा दुई प्रतिशतभन्दा कम वन क्षेत्र रहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।