बाँके\बाँके जिल्लामा हालसम्म ९७ प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । तीन दिन लगातार वर्षा भएको र सिक्टा सिँचाइ आयोजना लगायतका नहरको सिँचाइले गर्दा यस पटक जिल्लामा अनुमान गरिएभन्दा बढी हालसम्म ९७.१० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले बताए।
जिल्लामा रोपाइँ करिब करिब सम्पन्न हुन लागेको जनाउँदै नरैनापुर १, ४ र ६ को अग्लो स्थानमा करिब २४० हेक्टरमा रोपाइँ हुन बाँकी रहेको र जानकी गाउँपालिकाको १ र ३ मा करिब १७ हेक्टरमा मात्र रोपाइँ हुन बाँकी रहेको उल्लेख गरे।
नरैनापुरको उत्तरी बेल्ट अग्लो भएकाले त्यहाँ मकैलगायतको खेती हुने हुँदा रोपाइँ हुन समस्या देखिएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत बस्नेतले जानकारी गराए ।यस पटक असार र साउनको तेस्रो सातासम्ममा पनि जिल्लामा पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाले निर्माण गरेको नहर तथा अन्य सिँचाइका व्यवस्थाका कारण रोपाइँ निरन्तर भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
सिक्टाको नहर नपुगेको नरैनापुर र जानकी गाउँपालिकामा अन्य पालिकाको तुलनामा रोपाइँ ढिला भए पनि अन्य पालिकामा सिँचाइको व्यवस्थाका कारण छिटो भएको सो कार्यालयले जनाएको छ ।बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गरेकोमा सिक्टा सिँचाइबाट २२ हजार हेक्टर र अन्य विभिन्न बोरिङ र सिँचाइबाट गरेर करिब सात हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले रोपाइँ समयमै सम्पन्न भएको हो ।