२९ श्रावण २०८२, बुधबार

अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा, बाढीपहिरोको जोखिम
  • न्युज मानसराेवर

बाँके\बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसमेतको प्रभावले मनसुन सक्रिय भएको छ । दुवैतिरबाट आएको बादलले गर्दा हिजोदेखि नै धेरै स्थानमा पानी परिरहेको छ ।

आज पनि अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कुनै–कुनै ठाउँमा त अति भारी वर्षाको समेत सम्भावना छ । विहीबार बिहानदेखि भने तुलनात्मक रुपमा पानी पर्न कम हुने प्रक्षेपण छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको बताए । यसको प्रभावले गत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । एक–दुई ठाउँमा अति भारी वर्षा पनि भएको छ ।

२४ घण्टामा सबैभन्दा धेरै वर्षा झापामा

सबैभन्दा धेरै वर्षा झापा जिल्लामा भएको छ । झापाको बर्फल्याङ वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै १२६.४ मिलिमिटर र अनारमनी बिर्तामा १२०.४ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी केचनामा ९५.२, शनिश्चरेमा ९०.२, सिस्ने अर्जुनधारामा ८८.६, बाहुनडाँगीमा ७७, चन्द्रगढी एयरपोर्टमा ६५, कन्काइमा ५५ र दमकमा ३२ मिलिमिटर वर्षा भएको छ ।

इलामको इलाम टि–स्टेटमा सबैभन्दा धेरै ८९.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी जितपुरमा ६३, हिमाली गाउँमा ५५.६ र कन्याममा ५५ मिलिमिटर वर्षा मापन भएको छ ।यसैगरी उदयपुरको गाईघाटमा पनि ९४.८ मिलिमिटर वर्षा मापन भएको छ ।

पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा परासीमा

पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा पश्चिम नवलपरासीको परासी र बर्दघाट तथा कास्कीको पस्याङखोला केन्द्रमा भएको छ । परासीमा एक घण्टामै २६.२ मिलिमिटर र बर्दघाटमा १०.८ मिलिमिटर वर्षा मापन भएको छ । पस्याङखोलामा १४ मिलिमिटर वर्षा मापन भएको छ ।

पछिल्लो ६ घण्टायता भने रसुवाको बेत्रावती, बाँकेको कुसुम, बाजुराको झिंग्राना, डोटीको ओइलानो र सप्तरीको बरमझिया वर्षा मापन केन्द्रमा धेरै पानी परेको देखिन्छ ।

पश्चिम सर्दैछ पानी पार्ने बादल

मौसमविद गोविन्द झाका अनुसार पानी पार्ने बादल पूर्वबाट पश्चिमतर्फ सर्ने क्रममा छ । तर सबैतिर एकनासको वर्षा नभई आइसोलेटेड (कुनै–कुनै ठाउँमा मात्र केन्द्रित हुने) गरी पानी पर्ने सम्भावना रहेको उनले बताए ।

आज बिहान बागमती प्रदेशसहित काठमाडौं उपत्यकामा समेत केही घण्टासम्म मध्यम वर्षा हुने मौसमविद झाले बताए । त्यसपछि वर्षा पश्चिमतर्फ सर्दै जानेछ ।

आज राति पश्चिम क्षेत्रमा बढी वर्षा हुने पूर्वानुमान छ । त्यसक्रममा तुलनात्मक रुपमा पहाडी क्षेत्रमा बढी वर्षा हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए अनुसार आज दिउँसो देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

आज कुन प्रदेशमा कस्तो छ वर्षाको सम्भावना ?

मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । यसैगरी कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

यसैगरी आज राति पनि सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी पनि वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा भने मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

पानी पारिरहेको अहिलेको यो प्रणाली भोलि विहीबार बिहानपछि तुलनात्मक रुपमा केही कमजोर हुने छ । त्यसपछि मौसममा क्रमिक सुधार हुँदै जाने सम्भावना छ । ‘पानी पर्दैनपर्ने भन्ने चाहिँ होइन, तर विहीबार बिहानबाट थोरै कम भने हुन्छ,’ मौसमविद झाले भने ।

  • २९ श्रावण २०८२, बुधबार प्रकाशित

  • Nabintech