बाँके\नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाँकेको आज नेपालगञ्जमा आयोजित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब यो विषय राष्ट्रिय आकांक्षा मात्र नभई पार्टीहरूको लक्ष्य बन्नुपर्नेमा जोड दिए ।
पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधिनस्थताले पार्टीलाई बलियो बनाउने उल्लेख गर्दै उहाँले पार्टीमा बहुपदीयको अर्थ बहु गुट हुनु नभएको स्पष्ट पारे ।
पार्टीको दोस्रो विधान महाधिवेशनबाट विधानको प्रस्तावनामा जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै त्यसलाई वर्तमान सन्दर्भमा थप परिष्कृत गर्ने र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने विषयलाई थप गरिने उल्लेख गरे ।