काठमाडौँ \नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन समारोह सकिएपश्चात भोलि अर्थात् आइतबार बिहान ७:३० बाट बन्दसत्र शुरू हुँदै छ ।काठमाडौंको भृकुटीमण्डपमा हुने बन्दसत्रका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको एमालेले जनाएको छ ।
पार्टी महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै नेताहरू नेतृत्वमा पुग्ने दौडधूपमा लागेका छन् ।यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओली विधान संशोधन गरेरै उमेरहद हटाइएका कारण तेस्रोपटक पार्टी अध्यक्ष बन्ने तयारीमा छन् । उनलाई काउन्टर दिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।त्यसैले आइतबारबाट हुने बन्दसत्रअघि र पछि नेताहरू नेतृत्वमा पुग्ने दाउका साथ पद आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।
ईश्वर पोखरेल समूहमा उपाध्यक्षहरू सुरेन्द्र पाण्डे‚ युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य खुलेर लागेका छन् ।यस्तै, सचिव योगेश भट्टराई‚ गोकर्ण विष्ट‚ स्थाथी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय नेताहरू ठाकुर गैरे‚ उषाकिरण तिमिल्सिनालगायत नेताहरू पनि यो पक्षमा खुलेका छन् ।पार्टीमा गुमेको आन्तरिक लोकतन्त्रलाई पुर्नजीवन दिने र लोकतान्त्रिक विधि प्रक्रियाबाट नयाँ नेतृत्व छान्ने उनीहरूको जिकिर छ ।तर, समूहभित्र कुन नेता कुन पदमा लड्ने भने टुंगो भइसकेको छैन । संस्थापनमा असन्तुष्ट बन्ने नेताहरूलाई ल्याएर आफ्नो समूहलाई बलियो बनाउने रणनीति पोखरेल समूहको छ ।
विशेषगरी, अध्यक्ष पश्चातको महत्त्वपूर्ण पद महासचिवमा उपाध्यक्ष सुरेन्द्र पाण्डे कि योगेश भट्टराई लड्ने भन्ने टुंगो लाग्नै बाँकी छ ।यो समूहबाट सचिव लड्ने तयारीमा रहेका नेता ठाकुर गैरै समूहबाट को कुन पदमा लड्ने भन्ने टुंगो लागिनसकेको बताउँछन् ।
आफू सचिव लड्ने तयारीमा रहेको बताउँदै उनले सबै विषय छलफलपश्चात टुंगो लाग्ने धारणा राखे । ‘अब समूहगत छलफलहरू होलान् नै । भोलि साँझसम्म को कुन समूहबाट कुन पदमा लड्ने भन्ने आइसक्छ‚’ नेता गैरे भन्छन् ।यता‚ संस्थापनबाट पनि अध्यक्ष ओलीपश्चात को कुन पदमा लड्ने भन्ने टुंगो लागिसकेको छैन ।
विशेषगरी, महासचिव पदमा आश गर्नेको संख्या धेरै छ ।वर्तमान महासचिव शंकर पोखरेल पुनः महासचिव पदमै दोहोरिने प्रयासमा छन् । यस्तै, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली पनि महासचिव बन्न लागिपरेका छन् ।वर्तमान पदाधिकारीहरूमध्ये उपाध्यक्ष विष्णु पौडेल‚ उपमहासचिव विष्णु रिमाल‚ सचिव पद्मा अर्याल‚ छविलाल विश्वकर्मा लगायत नेताहरूको व्यवस्थापन गर्नुपर्ने चुनौती अध्यक्ष ओलीलाई छ ।
संस्थापनबाट उपमहासचिव लड्ने तयारीमा रहेका नेता शेरबहादुर तामाङ अध्यक्ष ओलीले कसलाई कुन पदमा लैजाने भन्ने कुनै संकेत दिइनसकेको बताउँछन् । उनी भोलि साँझसम्म कसलाई कुन पदमा ल्याउने भन्ने जानकारी आउन सक्ने बाउँछन् ।‘अध्यक्षज्यूले आफैँ केही माइन्ड मेकअप गर्नुभएको होला । तर‚ कसैलाई केही भन्नुभएको छैन‚’ तामाङ भन्छन्‚ ‘हामीलाई छलफलमा बोलाउनुभएको छैन । यद्यपि भोलि साँझसम्म को कुन पदमा लड्ने भन्ने आउने देखिन्छ ।’
०७८ मा भएको महाधिवेशनले अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १९ सदस्यीय पदाधिकारी चुनेको थियो । तर‚ गएको भदौमा भएको पार्टीको विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झार्ने प्रस्ताव पारित गरेको थियो । विधान महाधिवेशनले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको थियो ।तर‚ ११ औं महाधिवेशनमा आइपुग्दा एमालेले पुनः पदाधिकारी संख्या बढाएर १९ पुर्याउने सम्भावना रहेको संस्थापनकै नेताहरू बताउँछन् । यद्यपि, शुक्रबार बसेको सचिवालय बैठकमा भने यस विषयमा सहमति जुट्न सकेन ।यता‚ ईश्वर पोखरेल समूहले पदाधिकारी संख्या थप्ने विषयमा असहमति जनाउँदै विधान परिवर्तन गर्ने भए ७० वर्षे उमेरहद कायम गर्नुपर्ने अडान राखेको छ ।










