१२ जेष्ठ २०८३, मंगलवार

लुम्बिनीको बजेट १० महिनामा झन्डै ४० प्रतिशत मात्र खर्च
  • न्युज मानसराेवर

बुटवल \ लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिना (वैशाख) सम्ममा कुल बजेटको ३९ दशमलव ९१ प्रतिशत मात्रै खर्च गरेको छ । गत वर्षको यसै समयमा प्रदेश सरकारले ४६ दशमलव ४६ प्रतिशत बजेट खर्च गरेको थियो ।

चालु आवका लागि सरकारले पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ र चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँ गरी कुल ३८ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म चालु र पुँजीगत गरी १३ अर्ब ७९ करोड ९१ लाख ८५ हजार ९४२ रुपैयाँ मात्र खर्च भएको हो ।

तर, गत वर्ष यसै अवधिमा कुल ३८ अर्ब ९७ करोड बजेट मध्ये ४६ दशमलब ४६ प्रतिशत अर्थात १८ अर्ब १ करोड ५७ लाख खर्च भएको देखिएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी रविन्द अर्यालले बताए । ‘गत वर्षको यसै समयसम्मको तुलनामा झन्डै ७ प्रतिशत बजेट यस वर्ष कम भएको देखिन्छ,’ उनले भने, ‘जेन-जी आन्दोलन, चुनाव लगायतका कारण पनि केही असर परेको होला ।’ निर्माण सामग्रीमा परेको मूल्यवृद्धिको असर पनि अर्को कारण हुन सक्ने उनले बताए ।

आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा बजेट खर्चको अवस्था कमजोर देखिएको हो । विशेषगरी विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च न्यून देखिएपछि सरकारकै कार्यसम्पादनमा प्रश्न उठिरहेको छ । सरकारले बजेट खर्च गर्न नसकेको भन्दै सरकारकै नेतृत्व वा मन्त्री फेरबदलको विषय पनि जोडतोड उठिरहेको छ ।

  • १२ जेष्ठ २०८३, मंगलवार प्रकाशित

  • Nabintech