११ भाद्र २०८३, बिहीबार

सयभन्दा बढी हिमताल फुट्ने जोखिममा नेपाल
  • न्युज मानसराेवर

काठमाडौँ,\हिमाली मुलुक भनेर चिनिने नेपालमा कम्तिमा एक सयभन्दा बढी हिमताल फुट्ने खतरा रहेको विज्ञहरुले बताएका छन् ।म्यानमारदेखि अफगास्तिानसम्मका हिन्दकुश हिमालय क्षेत्रमा सबैभन्दा बढी जोखिममा रहेका तालको संख्या नेपाल र तिब्बतमा रहेको बिभिन्न अध्ययनले देखाएको छ ।

चाइनिज एकेडेकी अफ साइन्सेजबाट हिमतालको विषयमा विद्यावारिधी गर्नुभएका वैज्ञानिक डा. नितेश खड्काका अनुसार हिमतालको उच्च जोखिम नेपाल र तिब्बती क्षेत्रमा बढी छ । भारत लगायतका अन्य मुलुकमा हिन्दकुश हिमालय क्षेत्र फैलिएको भए पनि ती मुलुकमा जोखिमयुक्त हिमताल कम रहेका छन् ।

डा. खड्काले भन्नुभयो, “हिन्दकुश हिमालय क्षेत्रमा रहेका तालको अवस्थाबारे सन् २०२० तिर अध्ययन भएको थियो । त्यसपछि खासै अध्ययन भएका छैन । बढ्दो तापक्रमले दैनिकजसो हिउँ पग्लिने, हिमताल बन्नेक्रम बृद्धि भएसँगै हिमतालको जोखिम बढिरहेको छ ।”

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले हिमतालसम्बन्धी अध्ययन २०२० मा प्रकाशित गरेका थियो । सो प्रतिवेदनमा नेपालको हिमाली क्षेत्रमा रहेका २१ वटा ताल फुट्ने जोखिम जहिले पनि रहेको कुरा उल्लेख गरिएको थियो ।

डा. खड्काले यो पुरानो अध्ययनले २१ वटा ताल फुट्ने जोखिम भएको देखाए पनि पछिल्ला अवधिमा कम्तिमा एक सयभन्दा बढी हिमताल जोखिमयुक्त रहेका दावी गर्नुभयो । उहाँले भन्नुभयो, “कुनै ताल उच्च जोखिम, मध्यम जोखिम र जोखिममा रहेका हुन्छन् । यिनको अध्ययन गरेर जोखिम न्यूनीकरणको काम समयमा गर्नुपर्छ ।”

उहाँले भन्नुभयो, “नेपालतर्फ दुई हजार तीन सयभन्दा बढी हिमताल रहेको तथ्याङ्क सार्वजनिक भएको छ । हरेक हिमताल उत्तिकै जोखिमयुक्त मानिन्छन् । हिउँ पहिरो गएर बगाएर ल्याएको माटो, ढुङ्गा, गेग्रानको सतहमा बन्ने तालको दीर्घजीवन हुन सक्दैन । जतिबेला पनि फुट्ने खतरा रहिरहन्छ । त्यसैले २१ वटा ताल मात्र फुट्ने खतरा छ भन्नु पछिल्लो अवस्थामा गलत हुन जान्छ । हिमतालका विषयमा धेरै वैज्ञानिक अध्ययन प्रतिवेदन निस्केका छन् । ती सबै वैज्ञानिक अध्ययन पेपरको विश्लेष गरी यो कुरामा हामीले थप अध्ययन गर्नुपर्छ ।”

इसिमोडको अध्ययनमा संलग्न बरिष्ठ जलवायु विज्ञ तथा हिमतालका अध्येता डा. अरुणभक्त श्रेष्ठको भनाइमा हिमतालको जोखिम जहिले पनि जतिबेला पनि हुने भएकाले यसको जोखिम न्यूनीकरण गरिहाल्नु पर्ने र हुन सक्ने क्षति कम गर्न पूर्वसूचना प्रणाली विकास र विस्तार गर्नुपर्ने हुन्छ ।

यसअघि नेपालले जोखिमको तह निकै उच्च रहेका इम्जा र च्छो रोल्पाको जोखिम न्यूनीकरण गर्ने काम भएजस्तै अरु तालहरुको पनि जोखिम न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाले इम्जा हिमतालको जल सतह घटाउने काम गरेको थियो । सो हिमतालको पानी निकास गर्न पक्की संरचना निर्माण गरी तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली विकास गरिएको छ । इम्जा र च्छो रोल्पा हिमतालजस्तै चरणबद्ध रुपमा सबै तालहरुको जोखिम न्यूनीकरण गर्नुपर्ने डा. श्रेष्ठको भनाइ छ ।

सन् २०२० को अध्ययन प्रतिवेदनले नेपाल बाहेक तिब्बती क्षेत्र र भारतमा समेत गरी ४७ वटा हिमताललाई जोखिमका आधारमा खतराको सूचीमा राखेको छ । डा. खड्काका अनुसार नेपालमा सबैभन्दा बढी कोसी जलाधार क्षेत्रमा रहेका छन् । त्यसमा पनि दुधकोशी जलाधार क्षेत्रमा बढी हिमतालहरु जोखिममा छन् ।

इसिमोडको अध्ययनले तिब्बत क्षेत्रमा २५ र भारतमा एउटा हिमताल खतरामा रहेको देखाएको छ । यद्यपि डा. खड्काका भनाइमा पछिल्लो अवस्थामा तिब्बततर्फ पनि जोखिमयुक्त तालहरुको संख्या निकै बढी छ ।

नेपालका अधिकांश ठुला हिमनदीका मुहान तिब्बत भएकाले तिब्बती क्षेत्रमा रहेका जोखिमयुक्त हिमतालको प्रत्यक्ष असर नेपालमा पनि पर्ने भएकाले नेपाल झन खतराको अवस्थामा रहेको हिमताल विज्ञ डा. खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पूर्वको अरुण, दुधकोशी, तामाकोशी, भोटेकोशी, बुढी गण्डकी, मर्स्याङ्दी, हुम्ला कर्णालीको पानीको मुहान तिब्बत भएकाले यी नदी जलाधार क्षेत्रमा तिब्बतमा जोखिममा रहेका हिमतालको प्रत्यक्ष असर पर्न जान्छ । तिब्बतमा हिमताल फुट्दा यी नदी जलाधार क्षेत्रमा भोटेकोशी बाढीले भएकोजस्तै क्षति हुन जान्छ ।”

हिमतालको अर्का अध्येता प्राडा. रिजनभक्त श्रेष्ठले हिमतालको जोखिमलाई अत्यन्तै गम्भीर र सम्वेदनशील ढङ्गले हेरिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वव्यापी रुपमा बढ्दैगएको तापक्रमले हिउँ पग्लिने, हिमताल बन्नेक्रम जारी छ । त्यसैले नेपाल यो विषयमा निकै जोखिमको अवस्था सधैँ रहन्छ ।”

हिमताल फुट्नुअघि नै जोखिम न्यूनीकरणका कामहरु गर्नुपर्ने उहाँको भनाइ छ । विशेषगरी पूर्वसूचना प्रणालीको विकास गर्न सके तल्लो तटीय क्षेत्रमा हुने सम्भावित हानी नोक्सानी कम गर्न सकिने उहाँले बताउनुभयो । साभार 

  • ११ भाद्र २०८३, बिहीबार प्रकाशित

  • Nabintech