काठमाडौं। माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा ९एकीकृत समाजवादी०को पक्षमा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका ४ सांसदको हस्ताक्षर सनाखत गर्न आयोगले अस्वीकार गरेको छ ।
सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा, माया ज्ञवाली र शारदादेवी भट्टको हस्ताक्षर दल दर्ताका लागि निवेदन दिँदाका बखत समावेश नभएको उल्लेख गर्दै निर्वाचन आयोगले सनाखत गर्न अस्वीकार गरिदिएको हो ।
यससँगै उनीहरू माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा जान पाउने कि नपाउने भन्ने अन्योल सिर्जना भएको छ ।
हस्ताक्षर गर्न नपाएकामध्ये पाण्डे माधव नेपालका सम्धी, थापा वामदेव गौतमकी पत्नी र ज्ञवाली मदन भण्डारीसँगै दासढुंगा दुर्घटनामा ज्यान गुमाएका एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी हुन् ।
दल विभाजनलाई खुकुलो बनाउन सरकारले ल्याएको अध्यादेशमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने उल्लेख भए पनि संघीय सांसदको हकमा स्पष्ट उल्लेख छैन ।
अध्यादेशमार्फत संशोधन गरिएको राजनीतिक दलसम्बन्धी ऐन, दफा ३३ को उपदफा २ (क) मा भनिएको छ-
उपदफा २ बमोजिम छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन ।
ऐन हेर्दा संघीय सांसदको हकमा २१ दिने व्यवस्था लागू नहुने देखिन्छ, जसको अर्थ हस्ताक्षर सनाखत गराउन नपाएका ४ सांसद सांसदकै रूपमा नयाँ दलमा प्रवेश गर्न मिल्ने देखिन्न ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले यस सम्बन्धमा अविज्ञता प्रकट गरे ।
‘यसबारे अहिले नै मैले केही भन्न सक्दिनँ,’ प्रवक्ता श्रेष्ठले भने, ‘आयोगले छुट्टै निर्णय गर्यो भने अलग कुरा हो, तर कानूनमा स्पष्ट उल्लेख
छैन ।’ यता प्रस्तावित एकीकृत समाजवादी पार्टीका नेता एवं सांसद मेटमणि चौधरीले ४ सांसदको विषयमा आयोगसँग छलफल चलिरहेको बताए । सोमप्रसाद पाण्डेसहित ४ केन्द्रीय सदस्यले पनि एकीकृत समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गर्न पाएनन् ।
पाण्डेका अलावा केन्द्रीय सदस्यहरू रामपृत पासवान, राजन राई र विक्रम शाहीले हस्ताक्षर गर्न नपाए पनि तीनजना सहजै नयाँ दलमा जान पाउने छन् ।
जनप्रतिनिधि नरहेका नेताहरूको हकमा पार्टी रोज्न कुनै जटिलता छैन ।
सांसदहरू भने नयाँ पार्टीमा जाँदा दल त्यागसम्बन्धी कारवाही भई पद जाने जोखिम हुन्छ ।