३ असार २०८३, बुधबार

तटबन्ध निर्माणले बस्ती सुरक्षित
  • न्युज मानसराेवर

बर्दिया\कर्णाली नदीमा तटबन्ध हुँदा बर्दियाका राजापुर र गेरुवा गाउँपालिकाका बस्ती सुरक्षित भएका छन् । बर्सेनि कटान र डुबानको जोखिममा रहका बस्ती तटबन्ध निर्माण भएपछि सुरक्षित भएका हुन् ।

कर्णाली नदीको व्यवस्थापनका लागि २०७१ सालमा सिँचाइ तथा नदी व्यवस्थापन कार्यालय स्थापना भएको थियो । कार्यालयले राजापुरको २१ किलोमिटर तटबन्ध निर्माण गरेको छ । कर्णाली नदीको पश्चिम भँगालोमा पानीको बहाब बढ्दै गएपछि राजापुर नगरपालिका–१, ३ र ४ तथा गेरुवा गाउँपालिका–१, २ र ३ मा तीव्र कटान भइरहेको थियो । ती वडामा हाल कटान रोकिएको छ । गेरुवा गाउँपालिका–१, राजीपुरका घुमलाल सोनाहाले तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको बताउनुभयो । आयोजनाको २०७६ मा १२ अर्ब ८० करोड ७४ लाख रुपियाँको लागतसहितको गुरुयोजना स्वीकृत भएको थियो ।

आयोजनाका सूचना अधिकारी सञ्जीवकुमार शाहले गुरुयोजना स्वीकृत हुनुपूर्व एक अर्ब ४५ करोड २९ लाख रुपियाँ र गुरुयोजना स्वीकृतपश्चात् एक अर्ब ६२ करोड ४३ लाख गरी हालसम्म तीन अर्ब सात करोड रकम खर्च भइसकेको बताउनुभयो । आर्थिक वर्ष २०८२/८३ मा काम सम्पन्न गर्ने कार्ययोजना बने पनि बजेट अभावमा आयोजना सुस्त गतिमा काम भइरहेको छ ।

यस वर्ष कार्ययोजनाको म्याद थप गरेर आव २०८९/९० सम्म पु¥याइएको छ । उहाँले बजेट अभाव हुँदा गेरुवा नदीतर्फ तटबन्धको काम हुन नसकेको बताउनुभयो ।

सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका निर्देशक सुदिन मोक्तानले आयोजनाले तटबन्ध निर्माण गरेको स्थानमा बस्ती सुरक्षित भएको बताउनुभयो । उहाँले न्यून बजेट विनियोजन भएको हुनाले गुरुयोजना अनुसार प्रगति नभएको बताउनुभयो । उहाँका अनुसार गुरुयोजना अनुसार हालसम्म आयोजनाको प्रगति १३ प्रतिशत मात्र भएको छ ।

जापुर नगरपालिका–१, दौलतपुरका लोकराज ढुङ्गानाले सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाले काम राम्रो गरेको बताउनुभयो । अब नयाँ निर्माणसँगै भत्किन लागेको ठाउँमा मर्मतसम्भारतर्फ पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यालयका लागि पर्याप्त बजेट विनियोजन गरेर नदी व्यवस्थापनको काम तीव्र गतिमा अगाडि बढाउनुपर्ने देखिएको छ । १२ वर्षको अवधिमा कार्यालयले २१ किलोमिटर तटबन्ध निर्माण गरेको छ भने अझै ५० किलोमिटर तटबन्ध गर्न बाँकी रहेको छ । गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाको नदी तटीय क्षेत्रका स्थानीयवासी बाढी र नदी कटानबाट बर्सेनि पीडित बनेपछि २०७१ सालमा कार्यालय स्थापना भएको थियो ।

  • ३ असार २०८३, बुधबार प्रकाशित

  • Nabintech