२८ जेष्ठ २०८२, मंगलवार

औपचारिक रूपमै फुट्यो एमाले, माधव नेपालको पार्टीले पायो दलको मान्यता
  • न्युज मानसराेवर

काठमाडौं। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ । माधव नेपालको नेतृत्वमा एमालेका ५५ सांसदले नेकपा एकीकृत समाजवादी नामको पार्टी दर्ता गरेका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीलाई बुधवार निर्वाचन आयोगले नयाँ दलको रूपमा आधिकारिकता दिने निर्णय गरेको हो । आयोगको निर्णयसँगै नयाँ पार्टीले  प्रमाणपत्र पनि पाएको छ ।

एमालेबाट अलग भएर माधव नेपाल पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो ।  बुधवार भएको सनाखतपछि आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।आयोगले माधव नेपाललाई आधिकारिकता दिएसँगै नेकपा एमाले कानूनीरूपमा पनि फुटेको छ । नयाँ दलले मान्यता पाएसँगै माधव नेपालको पार्टीले संसद्मा पनि संसदीय दल गठनको अवसर पाउने छ ।

नेकपा एकीकृत समाजवादीको पक्षमा साविकको एमाले केन्द्रीय कमिटीका ५५ सदस्य र संघीय संसदका ३० सांसदले हस्ताक्षर सनाखत गराएका छन् । ३० बाहेक अन्य चार सांसदले पनि माधव नेपालको पक्षमा लाग्ने जनाउ दिएका छन् । तर दल दर्ताको निवेदनमा उनीहरूको हस्ताक्षर नभएका कारण आयोगले बुधवार सनाखत गर्न अस्वीकार गरेको हो । उनीहरू नयाँ पार्टीमा लाग्न पाउने या एमालेकै सांसद रहने भन्नेमा अन्योल कायमै छ ।

  • ९ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech