१६ बैशाख २०८२, मंगलवार

छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ धनुषा, कैलाली, बर्दिया, नवलपरासी (पश्चिम)  र रौतहटमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-७ क्षिरेश्वर मन्दिरस्थित सडकमा ना.१ ज ७३२८ नम्बरको विङ्गर र ज.१ च १६७४ नम्बरको एम्बुलेन्स एक-आपसमा ठोक्किएर सोमवार दिउँसो दुर्घटना हुँदा एम्बुलेन्समा सवार सोही नगरपालिका-९ ईच्छापुर बस्ने ७० वर्षीय सोसिलाल यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक समेत ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । विङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली,  गौरीगंगा नगरपालिका-४ राजिपुर राधाकृष्ण मन्दिरस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१-००९ प २९०० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीय धनबहादुर नेपालीको सोमवार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बर्दिया, मधुवन नगरपालिका-८ कुसुम्बाघाटस्थित सडकमा भे.१० प ३३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बासगढी नगरपालिका-६ बस्ने ३० वर्षीय महेश्वर अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-४ रमवापुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सुनवल नगरपालिका-१० गैडाखाल बस्ने २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टीकानाथ कुँवरको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

रौतहट, चन्द्रपुर नगरपालिका-८ बैजनाथपुरस्थित सडकमा ना.५३ प ६११२ नम्बरको मोटरसाइकल र ना.४३ प ६२४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुघटना हुँदा ना.५३ प ६११२ नम्बरको मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका-९ डुमरिया बस्ने २५ वर्षीय रामाशंकर साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • ७ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech