२७ असार २०८२, शुक्रबार

पेशा र पहिचान गुमाउँदै मगन्ताहरू
  • न्युज मानसराेवर

बाँके\देशभर स्थानीय तहको निर्वाचनको तयारी भइरहँदा नेपालगन्जसँगै जोडिएको बाँकेको डुडुवा गाउँपालिकास्थित सीमान्तकृत मगन्ता समुदायलाई भने चुनावको रौनकले छोएको छैन । डुडुवा गाउँपालिकाको वडा न. ६ हिरमिनीयामा बसोबास गर्दै आएका अल्पसंख्यक सीमान्तकृत मगन्ता समुदायलाई चुनावभन्दा पनि बिहान-साँझ खानाको कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउने गर्छ ।

मगन्ता समुदायको पेशा नै दिनभर मागेर गुजारा टार्नु हो । पेशाकै आधारमा उनीहरूको थर समेत लेखिएको छ। मगन्ता समुदायका अगुवा शोभाराम मगन्ता भन्छन्, ‘चुनाव आइगवा है सुनिठै । इस्से आगे कुछ मालुम नाई है । हम्का लोगन चुनाब-सुनाबका मतलब । अपन काम करेक है, बस ।’

राजनीतिमा चासो नराख्ने मगन्ता समुदायलाई निर्वाचन आएका बेला नेताहरु भने विभिन्न आश्वासन दिन पुग्छन् । यस पटक भने उम्मेदवारी टुंगो लगानसकेका दलहरु उक्त बस्तीमा पुगेका छैनन् ।

यसअघिका निर्वाचनमा उम्मेदवारहरु भोट माग्न घरदैलो पुगेका थिए । ‘तर जितेपछि अनुहार देखाउन कहिल्यै आएका छैनन् । चुनाव आएको छ भने फेरि भोट माग्न आउलन् नि,’ मगन्ता समुदायका अगुवा युवक कमलेश मगन्ता भन्छन् ।

बाँकेको हिरमिनीयामा ६० र आसपासका अन्य स्थानमा गरी करिब ३ सय ४९ परिवार मगन्ता समुदायको छ । बर्दियामा ३ सयको हाराहारीमा मगन्ता छन् । दुई जिल्लामा गरी करिब तीन हजार उनीहरुको जनसंख्या छ । तैपनि मगन्ताहरूले अझै माग्ने पेशाबाट आर्थिक अवस्था उकास्न सकिरहेका छैनन् ।

बालबालिकाको अवस्था नाजुक

यस समुदायका बालबालिकाको अवस्था पनि उत्तिकै नाजुक बन्दै गएको छ। प्राय: अभिभावकहरु दैनिक रुपमा माग्न जानाले बालबालिकाहरू भने विद्यालयसमेत जान पाउँदैनन् । पोषणयुक्त खाना नपाएर उनीहरुमा कुपोषणको समस्या बढ्दो छ ।

कतिपय अवस्थामा अभिभावकहरूसँगै उनीहरू पनि माग्न जाने गर्छन् । पुरातन सामाजिक संरचनामा मगन्ता समुदाय कथित तल्लो वर्गको समुदायको रुपमा पनि चिनिन्छ । त्यसो त यो समुदाय दलित समुदायमै पर्छ ।

तर दलित समुदायले पाउने सामाजिक सुरक्षा भत्ताबाट उनीहरू बञ्चित रहँदै आएका छन् । जुन माग यस पटकको चुनावमा उम्मेदवारहरू सामु उठाउने यहाँका युवा अगुवाहरूले बताएका छन् । ‘पहिलेको चुनावमा पनि हामीले सामाजिक सुरक्षा भत्ताको माग गरेका थियौं । तर नेताहरुले हाम्रा लागि केही गरेनन्,’ स्थानीय अगुवा आज्ञाराम मगन्ताको गुनासो छ ।

मगन्ताहरुले मुख्य मागको रुपमा सामाजिक सुरक्षा भत्ता, स्थायी र सुरक्षित बास, रोजगारी र बालबालबालिकालाई पोषणयुक्त खाना साथै गुणस्तरीय नि:शुल्क शिक्षाको मुद्दा उठाउँदै आएका छन् ।सामाजिक विभेद्‍मा पर्ने हुँदा उनीहरूले पछिल्लो समय उनीहरुले थरको रुपमा ‘महावत’ लेख्न थालेपछि सामाजिक सुरक्षाबाट बन्चित भएका हुन् । जसकारण आफूहरूले पेशा र पहिचान दुवै गुमाउनु परेको उनीहरुको गुनासो छ ।साभार

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech