६ जेष्ठ २०८१, आईतवार

भैरहवाको बाल सुधारगृह स्थानान्तरण गर्न खोज्दा झडप, डीएसपी घाइते
  • न्युज मानसराेवर

बुटवल– कारागार व्यवस्था विभागले रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहमा रहेका केही बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेपछि उनीहरुलाई स्थानान्तरण गर्न खोज्दा मंगलबार प्रहरीसँग झडप भएको छ।

स्थानान्तरण गर्नका लागि प्रहरीको टोली त्यहाँ पुगेपछि सुधार गृहमा रहेकाहरु आक्रमणमा उत्रेका थिए। बाल सुधार गृहमा १८ वर्षभन्दा माथि किशोरहरु समेत रहेको र उनीहरुले प्रहरीलाई आक्रमण गरेपछि रुपन्देहीका डीएसपी नवरत्न पौडेल घाइते भएका छन्।

किशोरहरुले सुधारगृहको भवनको सिसा तोडफोड गर्ने, चक्कु समाएर घाँटी रेटेर मर्छौं भन्ने, विभिन्न सामग्रीले सुरक्षाकर्मीलाई प्रहार गर्ने लगायतका क्रियाकलाप गरेपछि प्रहरी बाल सुधारगृह पुगेको थियो। किशोरहरुले भित्रबाट चाबी लगाएर होहल्ला गरेर चिच्याएपछि प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए।

किशोरहरुले झ्यालबाट सुधार गृहको छेउको बाटोबाट हिँडडुल गर्ने महिलाहरुलाई जिस्क्याउने, फोहोर शब्दको प्रयोग गर्ने गुनासो विगतदेखि नै आउने गरेको उनले बताए।

स्थानीयले मंगलबार जिल्ला प्रशसन कार्यालयमा पुगेर सुधारगृह स्थानान्तरण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए। स्थानान्तरण गर्न खोज्दा प्रहरीमाथि जाइलागेका किशोरको आक्रमणबाट डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ। त्यस्तै डीएसपीका अंगरक्षक टोपबहादुर रखाल समेत घाइते भएका छन्। प्रहरी प्रमुख रेग्मीले बाल सुधार गृहमा लागूऔषध समेत प्रयोग गरेको हुनसक्ने भन्दै चेकजाँच भइरहेको बताए। बाल सुधार गृहका बालकहरुले भने बाल सुधार गृहले न्यूनतम सुविधा पनि नदिएको आरोप लगाउने गरेका थिए।

भैरहवामा चार वर्ष अघिदेखि प्रदेशस्तरीय बाल सुधार गृह सञ्चालनमा आएको हो। कानुनको विवादमा परेका बालकहरुलाई यहाँ राखिन्छ। तर, उमेर बढ्दै जाँदा उनीहरुले अवाञ्छनीय क्रियाकलाप गर्न थालेको बताइएको छ। ६० जना क्षमता रहेको सुधार गृहमा १ सय ६ जनालाई राखिएको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले जानकारी दिइन्।

  • ७ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech