२३ बैशाख २०८१, आईतवार

इन्धनको मूल्यवृद्धिले बाँकेका किसानलाई पिरलो
  • न्युज मानसराेवर

बाँके\इन्धनको मूल्य बढ्दा बाँकेका किसान मर्कामा परेका छन् । रोपाइँ गर्ने समयमा डिजेलमा भएको मूल्यवृद्धिले आम्दानीभन्दा लागत दोब्बर लाग्ने किसानले बताएका छन् । कृषिमा लागत बढ्न थालेको तर प्रतिफल भने हरेक वर्ष घट्दा खेतीपातीमा आकर्षण घटिरहेको कृषकहरुले बताएका छन् ।

समयमै पानी नपर्दा, कृषि मलको चरम अभाव र सिँचाइ सुविधा नहुँदा खेतीपातीमा उब्जनीभन्दा खर्च बढी हुने गरेको बाँके डुडुवा गाउँपालिका वडा नं. ६ का किसान जयपाल मौर्यले बताए । ‘यो वर्ष अहिलेसम्म पानी नपर्दा रोपाइँ गर्न निकै समस्या भएको छ,’ उनले भने, ‘पम्पसेट चलाउन पनि डिजेलको मूल्य दोब्बर भएको छ, भने मल पाउने कुनै सम्भावना नै छैन ।’

बाँकेलगायत आसपासका जिल्लामा यो वर्ष असारको पहिलो हप्तासम्म मनसुनी वर्षा हुन सकेको छैन । रोपाइँ गर्न कि पानी पर्नुपर्ने कि त सहज सिँचाइको सुविधा हुनपर्नेमा किसानसँग यी दुवै विकल्प नहुँदा समस्या थपिएको छ । अन्न भण्डारका रुपमा चिनिएका बाँके, बर्दियाका किसान यो वर्ष डिजेलको मूल्य बढ्दा थप चिन्तित भएका छन् ।

इन्धनमा भएको मूल्य वृद्धिले खेतीपातीमा लागत दोब्बर बढेको डुडुवा गाउँपालिका वडा नम्बर ६ बल्दीपुर्वाका किसान गुरुदीन यादवले बताए । ‘डिजेलको मूल्य बढ्दा पम्पसेट चलाउन नसकिने भएको छ,’ उनले भने, ‘मल पनि नपाउने, पानी तान्न पनि दोब्बर खर्च लाग्दा हामीलाई चिन्ता लागेको छ ।’

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech